संसद विघटनसँगै ७ जना मन्त्रीद्वारा सामूहिक राजीनामा, बादल र भट्टले दिए ओलीलाई साथ

५ पुस ०७७, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफरिसमा राष्ट्रपतिले संसद विघटनको गरेपछि ७ जना मन्त्रीले सामूहिक राजीनामा दिएका छन् ।

राजीनामा दिने मन्त्रीहरुमा शिक्षामन्त्री गिरिराजमणि पोखरेल, उर्जामन्त्री वर्षमान पुन, कृषिमन्त्री घनश्याम भुसाल, पर्यटनमन्त्री योगेश भट्टराई, वनमन्त्री शक्ति बस्नेत, श्रममन्त्री रामेश्वर राय यादव र खानेपानीमन्त्री विना मगर रहेका छन् ।

सामूहिक राजीनामा दिएका मन्त्रीहरुको राजीनामा पत्रमा भनिएको छ, “२०७७ पौष ५ गतेको मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा प्रतिनिधिसभाको विघटनको प्रस्तावमा हाम्रो असहमति रहेको सर्वविदित नै छ । त्यसलाइृ रोक्न हाम्रो तर्फबाट अधिकतम प्रयास भएको पनि सार्वजनिक नै छ । गैरसंवैधानिक, अलोकतान्त्रिक, जनादेशविपरीत तथा राजनीतिक मूल्य र स्थिरताको प्रतिकूल हुने गरी चालिएको कदमप्रति गम्भीर असहमति जनाउँदै हामीले मन्त्री पदबाट राजीनामा गरेका छौं ।”

बादल र भट्टले दिए ओलीलाई साथ

संसद विघटनसँगै पूर्वमाओवादीबाट मन्त्री बनेका गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले भने ओलीलाई साथ दिएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले आजै प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा संसद विघटन गरर मध्यावधि निर्वाचनको मिति समेत तोकी दिएकी छन् ।

राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ को उपधारा १ र ७ तथा धारा ८५ र संसदीय प्रणालीको आधारभूत मर्म एवं मूल्यमान्यता बमोजिम भन्दै संसद विघटनको घोषणा गर्दै मन्त्रिपरिषद्को सिफारिस बमोजिम ताजा जनादेशका लागि २०७८ वैशाख १७ गते पहिलो चरण र २७ गते दोस्रो चरणमा प्रतिनिधिसभाको मध्यावधि निर्वाचनसमेत तोकेकी छन् ।

आज आइतबार बिहान बसेको मन्त्रिपरिषद् बैठकपछि प्रधानमन्त्री ओलीले संसद विघटन गर्ने प्रस्ताव राष्ट्रपतिसमक्ष लगेका थिए ।