१३ साउन ०७७, रुकुम पश्चिम । जिल्लाको चौरजहारी नगरपालिकामा भएको सामूहिक हत्या घटनाको प्रतिवेदन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पठाइएको छ ।
सभामुख अग्निप्रसाद सापकोटाको निर्देशनअनुसार संघीय संसद सचिवालयले चौरजहारी घटनाको प्रतिवेदन मुख्य सचिवलाई सम्बोधन गरेर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पठाएका हुन् ।
संघीय संसदका महासचिव डा.भरतराज गौतमले प्रतिनिधि सभाका सभामुखसमक्ष २०७७ असार ३० गते पेश भएको प्रतिवेदन आवश्यक कार्यान्वयनका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पठाएको जानकारी दिए ।
प्रतिनिधिसभा बैठकले गतजेठ २६ गते चौरजहारी घटना अनुसन्धान गर्न प्रतिनिधिसभा सदस्य देवेन्द्र पौडेलको संयोजकत्वमा ९ सदस्यीय संसदीय समिति गठन गरेको थियो ।