३ पुस ०७४, काठमाडौं । नापी विभाग आफैंले सगरमाथाको उचाई नाप्ने भएको छ ।
नापी विभागको अध्ययनमा २०७२ बैशाखको विनाशकारी भूकम्पले हिमालहरुको उचाई केही र काठमाडौंको उचाई झण्डै एक मिटर बढेको देखाएपछि सगरमाथाको उचाई नाप्न खोजिएको हो ।
अन्तर्राष्ट्रिय विज्ञहरुसँग परामर्श गरेर उचाई मापनको कार्यविधि बनाएर विभाग आफैं काम गर्ने गरी आवश्यक तयारी पूरा भएको निर्देशक अनिल मरासिनीले बताए ।
उनका अनुसार सगरमाथाको उचाई नाप्न विभागका ७०/८० जना जनशक्ति खट्नेछ भने २ वर्ष लाग्न देखिन्छ ।
सगरमाथाको शिखरमा टोली पठाउने र जीपीएस मेसिन राखेर अनुगमन गर्ने कार्ययोजना छ । यदि निजामति कर्मचारी आफैं शिखरमा जान नसक्ने अवस्था रहे शेर्पाहरुलाई तालिम लिएर उनीहरुको सहयोग लिइने विभागले जनाएको छ ।
सगरमाथाको उचाई नाप्न सरकारले चालू आर्थिक वर्षको बजेटमा २ करोड छुट्याएको छ । यो रकमले नपुग्ने भए पनि अर्थ मन्त्रालयले बजेटको अभाव हुन नदिने बचन दिएको छ ।
उसो त सगरमाथाको उचाई नाप्न भारतका साथै चीनले पनि चासो देखाएको थियो ।
सन् १८५८ मा तत्कालीन ब्रिटिस सरकारको सर्बे अफ इण्डियाको टोलीले सगरमाथाको उचाई मापन गरेको थियो । त्यसबेला मापन भएको ८ हजार ८४८ मिटरलाई नै सगरमाथाको आधिकारिक मानिएको छ ।













