२३ साउन, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा मुख्य सचिव र सबै मन्त्रालयका सचिवहरुलाई बोलाएर सचिवहरुले मन्त्री छान्ने र मन्त्रीहरुले सचिव छान्ने प्रवृत्ति अन्त्य हुनु पर्ने बताउँदै मन्त्रालयका प्राथमिकताहरु तीन दिनभित्र ल्याउन निर्देशन दिएका छन् ।
‘सचिवहरु मुख्य सचिव मातहत रहन्छन् र मन्त्रीहरु प्रधानमन्त्री मातहत रहन्छन्’ प्रधानमन्त्रीले सचिवहरुलाई निर्देशन दिँदै भने, मन्त्रीले सचिव छान्ने वा सचिवले मन्त्री छान्ने अवस्था अन्त्य गर्नुपर्छ ।’ साथै प्रधानमन्त्री ‘प्रचण्ड’ले सरकारले सुधार गर्नुपर्ने कामबारे तीन दिनभित्र सुझाव दिन सचिवहरुलाई निर्देशन दिएका हुन् ।
प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्लकाअनुसार प्रधानमन्त्रीले सचिवहरुलाई मन्त्रालयका प्राथमिकता, कार्य योजना तीन दिनभित्र ल्याउन निर्देशन दिँदै जनताले परिवर्तन अनुभूत गर्ने गरी मलाई रिजल्ट चाहियो भनेका छन् ।
प्रधानमन्त्रीले दायाँ-बायाँ भयो भने आवश्यक स्टेप चाल्ने बताउँदै संविधान कार्यान्वयन गर्ने र सर्व-स्वीकार्य बनाउने सरकारको पहिलो चुनौति रहेको बताए ।
उनले विस्तृत शान्ति सम्झौता, पुनर्निर्माण तथा नवनिर्माणको कामलाई तिव्रता दिन र भूकम्प पीडितलाई ४५ दिनभित्रै पहिलो किस्ताको रकम पुर्याउन सचिवहरुलाई निर्देशन दिँदै गरिबसँग सरकार अभियान चलाउने र तीन महिनाभित्र सबै जिल्लाका स्वास्थ्य केन्द्रमा चिकित्सक पुर्याउन कार्ययोजना बनाउन निर्देशन दिए ।