सचिव टंकमणी महालेखा परीक्षकका लागि सिफारिस

२१ बैशाख ०७४, काठमाडौं । संवैधानिक परिषदले महालेखा परीक्षकमा सचिव टंकमणी शर्मालाई नियुक्तिका लागि सिफारिस गरेको छ ।

बुधवार साँझ बसेको परिषदको बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका सचिव शर्मालाई महालेखा परीक्षक सिफारिस गरेको हो ।

उमेर हदका कारण भानु प्रसाद आचार्य अवकाश भएपछि महालेखा परीक्षक लामो समयदेखि रिक्त थियो ।

अर्थ मन्त्रालयको सहसचिवमा लामो अनुभव हासिल गरेका शर्मा सचिवबाट अवकाश हुनुअघि महालेखा परीक्षक सिफारिस भएका छन् । संसदीय सुनुवाईपछि राष्ट्रपतिले महालेखा परीक्षक नियुक्त गर्ने संवैधानिक प्राबधान छ ।

महालेखा परीक्षकको कार्यालयले राष्ट्रपति र उपराष्ट्रपति कार्यालय, सर्वोच्च अदालत, संघीय प्रदेश, प्रदेश सभा, स्थानीय तह, संवैधानिक निकाय, महान्यायाधिवक्ताको कार्यालय, सबै सुरक्षा निकाय लगायत सरकारी कार्यालयहरुको लेखापरीक्षण गर्दछ ।

तपाइको मत