सञ्चारमाध्यम र सामाजिक सञ्जालमा आएका टिप्पणीप्रति नेपाली सेनाको ध्यानाकर्षण

२४ असोज ०८२, काठमाडौं । नेपाली सेनाले संस्था र नेतृत्वलाई जोडेर विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमा आएका टिका टिप्पणीप्रति ध्यानाकर्षण भएको जनाएको छ ।

शुक्रबार एक विज्ञप्ति जारी गर्दै सेनाले छिटो भन्दा छिटो शान्ति सुरक्षा कायम गर्ने उद्देश्यका साथ आवश्यकता अनुसार पहलकदमी लिएको प्रष्ट पार्दै सो ध्यानाकर्षण भएको गराएको हो ।

‘हालको संवेदनशील अवस्थामा विभिन्न सञ्चारमाध्यम र सामाजिक सञ्जालमार्फत संस्था र नेतृत्वलाई जोडेर विभिन्न प्रकारका टिका टिप्पणी र धारणाहरू सम्प्रेषण भएकोमा नेपाली सेनाको ध्यानाकर्षण भएको छ,’ सेनाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘नेपाली सेनाले आफ्नो धारणा र गतिविधिहरू नियमित रूपमा प्रेस विज्ञप्ति, प्रेस नोट र आधिकारिक सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्दै आएको तथ्य समेत जानकारी गराउँदछौँ ।’

सेनाले विषम परिस्थितिलाई सामान्यीकरण गर्न विद्वतवर्ग, समाजसेवी, सञ्चारकर्मी तथा आम नागरिकहरूबाट प्राप्त भएका विभिन्न रायसुझाव तथा समालोचनात्मक अभिव्यक्तिप्रति आभार समेत व्यक्त गरेको छ ।