१ पुस, काठमाडौं । सार्वजनिक यातायातबाट सार्वजनिक स्थल र सडकमा पुस १ गतेदेखि फोहर फ्याँक्न निषेध गरिएको छ ।
सङ्घीय मामिला तथा स्थानीय विकास मन्त्रालय र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घबीच मङ्सिर १७ गते सार्वजनिक यातायातबाट फोहर फ्याँक्न निषेध गर्ने र सवारीमै डस्टविन राख्ने सहमति भएको थियो ।
सवारीबाट यात्रा गर्दा सार्वजनिकस्थल तथा सडकमा प्लास्टिक बोतल, खानेकुराको अवशेष, प्लास्टिक झोला, कागज आदि जथाभावी फाल्न नदिइने भएको हो ।
सार्वजनिक यातायातबाट निष्कासन हुने फोहरमैलालाई नियन्त्रण वा व्यवस्थित गर्न प्रत्येक सवारीमा ३० माइकोनमाथिको पोलिथिन थैलो वा डस्टविन राख्नुपर्ने व्यवस्था गरिएको छ ।
नियमको उल्लङ्घन गर्ने व्यक्ति, संस्था वा सवारीका सञ्चालकलाई फोहरमैला व्यवस्थापन ऐन, २०६८ बमोजिम रु ५०० देखि रु.५ हजारसम्म जरिवाना र तीन महिनासम्म कैद गरिनेछ । मर्करीजस्ता वातावरणलाई असर पार्ने सामग्री फालेको पाइएमा रु एक लाख जरिवाना गर्ने व्यवस्था ऐनमा छ ।
सवारीबाट सडकमा थुक्नेलाई समेत रु .५०० कारबाही हुने फोहरमैला व्यवस्थापन प्राविधिक सहयोग केन्द्रका कार्यकारी निर्देशक विश्वमणि ज्ञवालीले जानकारी दिए ।