काठमाडौँ । ‘तेस्रोलिंगी नागरिकको पनि सन्तान हुन्छन् ?’ भन्ने समाज छ । अझ त्यसमाथि तेस्रोलिंगीको बच्चा भनेर कुरा काट्नेहरू छन् । तेस्रोलिंगी हनि महर्जन र ज्ञानी महर्जनले आफ्ना दुई सन्तानलाई शिक्षा दिने क्रममा यस्तै विभेद भोगे ।
स्कुल पु¥याउन जाँदा होस् या लिएर फर्कँदा ‘छक्का, हिजडा’को छोराछोरी भन्ने शब्द प्रयोग गर्दा बालबालिकामा मानसिकरूपमा असर परेको हनि बताउँछन् । ‘मेरा बच्चालाई काउन्सिलिङ नै गराउन प¥यो, ’समर्पण सभ्य समाज नेपालका सचिव समेत रहेका उनले प्रश्न गरे, ‘के हामी मानव होइनौ र ? के हाम्रा सन्तानले बिना भेदभाव पढ्न पाउँदैनन् र ?’
उनले आफूहरूको पनि बाँच्ने अधिकार रहेको भन्दै सम्मानपूर्वक हेरिदिन अनुरोध पनि गरे । ‘हाम्रा बालबच्चाले पढ्नमा धेरै समस्या भोगिरहेका छन् । तेसोलिंगीको बालबालिकाले धेरै भेदभाव र विभेद भोग्नु परेको छ,’ उनले भने, ‘खाजा खान रेस्टुरेन्टमा जाँदा समेत दुर्व्यवहार भएको छ । त्यो म आफैँ पनि महशुस गरेको छु । यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक कुनै ग्रहबाट निस्केको होइन । समानता पूर्वक हेरिदिनुहोस् ।’
यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक नागरिकका बालबालिकाको शिक्षामा भइरहेको विभेद अन्त्य गर्ने उद्देश्यसहित ‘समाजले के भन्ला ?’ सडक नाटक आफ्नै जीवनसँग मेल खाने खालको रहेको उनले बताए ।
कीर्तिपुरको बाघ भैरव मन्दिर अगाडि समर्पण सभ्य समाज नेपालले सडक नाटक प्रदर्शन गरेको थियो । पहिलो संविधान सभाका सदस्य सुनिलबाबु पन्तको परिकल्पनामा प्रदर्शन भएको नाटकमा अभिनय गरेका नमस्तिका श्रेष्ठले यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक नागरिकको बालबच्चाहरूलाई बाटोमा हिँडिरहँदा पनि नराम्रो व्यवहार भइरहेको बताए ।
‘अरूले जस्तै समान हक अधिकारका लागि समर्पण सभ्य समाज नेपाल स्थापना भएको छ,’ उनले भने, ‘हामी जस्ता व्यक्तिलाई हक अधिकारबाट वञ्चित नगरियोस् ।’
गाईजात्राको अवसरमा अमेरिकी दूतावासको सहयोगमा समर्पण सभ्य समाज नेपालले सडक नाटकमार्फत समाजमा जनचेतना फैलाउने काम गरेको थियो ।
नील हिरा समाजका उपाध्यक्ष उमेश पाण्डेले आफूहरू यही देशको नागरिक भएको बताउँदै भने, ‘हामीलाई पनि देश चलाउन पाउने अधिकार छ, यो अधिकार हनन भइरहेको छ ।’
उनले केटाकेटा र केटीकेटीबीच विवाह गर्ने कानुन बनाउन सरकारसँग माग पनि गरे ।
‘आमाको कोखबाट छोरा र छोरी मात्रै जन्मँदैनन्, हामी जस्ता व्यक्ति पनि जन्मन्छन् । हामी जस्ता व्यक्तिले देश चलाउन सक्छौ । हामी पनि यो देशको नागरिक हौँ । हामीलाई पनि देश चलाउन पाउने अधिकार छ,’ माया गुरुङ र सुरेन्द्र पाण्डेलाई देखाउँदै पाण्डेले भने, ‘केटाकेटा र केटीकेटीबीच सेमसेक्स म्यारिज गर्न पाउनु पर्छ ।’
नील हिरा समाजकी कार्यकारी निर्देशक मनिसा ढकाल सडक नाटकबाट पुरातनवादी सोच परिवर्तन गर्न सहयोग पुग्ने अपेक्षा गरेको सुनाइन् ।
उनले मास्टर्स गरेका यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक नागरिकले रोजगारी नपाउने समस्या रहेको पनि बताइन ।
‘हामी माथि परिवारबाट विभेद हुन्छ, स्कुलमा पनि छक्का हिजडा भनेर जिस्क्याउँछन् । हामीजस्तो सन्तान जन्मेपछि अपहेलना गरेर तिरस्कार गर्छन्,’ उनले भनिन्, ‘हामीलाई पनि माया गरिदिनुहोस् । हामीलाई पनि स्वीकारिदिनुहोस्, घृणा होइन माया दिनुहोस् ।’
सर्वोच्च अदालतको आदेश काठमाडौं जिल्ला अदालतले कार्यान्वयन नगरेपछि उच्च अदालत धाइरहेको माया गुरुङ र सुरेन्द्र पाण्डे ६ वर्षदेखि विवाह गरेर बसेका छन् । विवाह दर्ता भने गर्न पाएका छैनन् ।
सडक नाटक प्रदर्शनमा सुरेन्द्रले आफूहरूको विवाहले अहिलेसम्म कानुनी रूपमा मान्यता पाउन नसकेको बताए ।
‘कानुनी मान्यता पाउनका लागि अदालतदेखि हरेक ठाउँमा हामीले सङ्घर्ष गरिरहेका छौ,’ उनले भने, ‘समाजले पनि स्वीकार गर्नुपर्छ भनेर समर्पण सभ्य समाजले जुन काम गरेको छ त्यसलाई हामी धन्यवाद दिन चाहन्छौ ।’
सडक नाटक ‘समाजले के भन्ला?’ यसअघि बसन्तपुरमा दरबार स्क्वाएरमा प्रदर्शन भएको थियो ।