सनसिटी अपार्टमेन्टमा बस्ने एकै परिवारका २ जना कोरोना संक्रमित

२ बैशाख ०७७, काठमाडौं । पेप्सीकोला टाउन प्लानिङस्थित सनसिटी अपार्टमेन्टमा लण्डनबाट आई बसोबास गर्ने एकै परिवारका दुई जनामा कोभिड–१९ पोजेटिभ देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले लण्डनबाट आई सनसिटी अपार्टमेन्टमा बसोबास गर्ने एकै परिवारका ३ जनाको कोभिड–१९ को आशंका २०७७ साल बैशाख १ गते आरडीटी विधिबाट परीक्षण गर्दा दुई जनामा पोजेटिभ देखिएको जनाएको छ ।

“पेप्सीकोला टाउन प्लानिङस्थित सनसिटी अपार्टमेन्टमा लण्डनबाट आई बसोबास गर्ने एकै परीवारका ३ जना कोभिड–१९ को शंकास्पदहरूको मिति २०७७ साल बैशाख १ गते आरडीटी विधिबाट परीक्षण गर्दा दुई जना (५८ बर्षिया पुरुष, ८१ बर्षिया महिला) को पीसीआरबाट थप परीक्षण गर्दा समेत पोजेटिभ देखिएको छ,” मन्त्रालयको वेवसाइटमा भनिएको छ, “बाँकी १ जनाको हालको परीक्षणमा कोभिड–१९ पोजेटिभ नदेखिएको र उल्लेखित ३ जना व्यक्तिहरू क्वारेन्टाईनमा टाउन प्लानिङस्थित निवासमा बसोबास गर्दै आएको व्यहोरा समेत जानकारीका लागि अनुरोध छ ।”

उक्त अपार्टमेन्टमा बस्ने व्यक्तिहरूको परीक्षण आजैबाट सुरू गरिएको र संक्रमित देखिएकाहरुसँगको संलग्नहरूको ट्रेसिङ्ग सुरू गरिएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयकाअनुसार पाँच हजार ६ सय ९३ जनाको कोभिड–१९ परीक्षण गरिएकोमा १६ जनाको रिर्पोट पोजेटिभ आएको छ भने एक जना निको भइसकेको छ ।