सप्तकोसी उच्च बाँध भारतका लागि समेत हानिकारक

भारतीय प्रधानमन्त्रीले अरुण तेस्रो उद्घाटन गरे दुर्घटना हुने !

सप्तकोसी उच्च बाँधविरुद्ध नेपाल कम्युनिष्ट पार्टीले आयोजना गरेको विरोध सभामा सहभागी । तस्बिर : रत्नप्रसाद आचार्य ।

२२ भदौ ०७४, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य धर्मेन्द्र बास्तोलाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अरुण तेस्रो उद्घाटन गरे दुर्घटना हुने चेतावनी दिएका छन् ।

सप्तकोसी उच्च बाँधको विरोधमा धरानमा बिहीबार आयोजित सभालाई सम्बोधन गर्दै नेता बास्तोलाले नेपाल र नेपालीविरुद्ध गलत अभिव्यक्ति दिने भारतीय प्रधानमन्त्रीलाई कुनै हालतमा अरुण तेस्रोको उद्घाटन गर्न नदिने चेतावनी दिएका हुन् ।

बास्तोलाले सप्तकोसी उच्च बाँध नेपाल र नेपालीको हित विपरीत रहेकाले तत्काल उक्त सम्झौता खारेज नगरे सरकारविरुद्ध पनि आन्दोलन गर्ने चेतावनी दिए ।

विप्लव नेतृत्वको पार्टीले सप्तकोसीमा २ सय ६९ मिटर अग्लो बाँध निर्माणका लागि सप्तकोसी उच्च बाँधको विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) तयार गर्न सरकारले स्वीकृती दिएपछि विरोध गर्दै आएको छ ।

सप्कोशी उच्च बाँध नेपालको हित विपरीत

पूर्वसांसद तथा पार्टीका केन्द्रीय सदस्य किरणकुमार राईले तत्काल भारतलाई दिएको डीपीआरको काम बन्द गर्न आग्रह गरे ।

राईले सप्तकोसीमा बाँध बने प्रदेश १ का धेरै जसो जिल्लाका धेरै मानव बस्ती डुवानमा पर्ने भएकाले सप्कोशी उच्च बाँध नेपालको हित विपरीत रहेको बताए ।

सप्तकोसी भारतका लागि समेत हानिकारक

प्रा.डा.गोपाल शिवाकोटी (चिन्तन) ले सप्तकोसी उच्च बाँध नेपाल र नेपालीका लागि मात्र नभएर भारतका लागि समेत हानिकारक हुने बताए ।

प्रजातन्त्र र लोकतन्त्र पश्चात भारतसँग भएका प्राकृतिक सम्झौता कहिल्यै पनि नेपालीको हितमा नभएको बताउदै उनले यसपछिका सरकारले राष्ट्रियता जोगाउन भन्दा पनि भारतलाई खुशी पार्ने काम गरिरहेको आरोप लगाए ।

कोशी उच्च बाँध बनाउँदा धनकुटा, उदयपुर, भोजपुर, सिन्धुली, ओखलढुंगा, रामेछाप, खोटाङ, तेह्रथुम, पाँचथर, संखुवासभासहित तराईका बस्तीहरु र सुनकोशी नदीको जलाधार क्षेत्रका भुभागहरु डुब्दा १ लाख २० हजार भन्दा बढी परिवार विस्थापित हुने बताइएको छ ।

तपाइको मत