देवराम यादव/सप्तरी । स्वास्थ्य कार्यालय सप्तरीले जिल्लामा बिहीबारसम्म कोरोना भाइरस संक्रमितको संख्या १२१ पुगेको जानकारी दिएको छ ।
स्वास्थ्य कार्यालय सप्तरीका प्रमुख दुनियालाल यादवले दिएको जानकारी अनुसार बिहीबारसम्म सप्तरीका कोरोना भाइरस संक्रमितको संख्या १२१ पुगेको छ ।
पछिल्लो पटक संक्रमित थपिएसँगै हनुमाननगर कंकालिनी नगरपालिकामा ६ जना संक्रमित थपिएको छ । उनीहरु १५ वर्षदेखि माथि र ३८ वर्षमुनिका रहेका छन् । संक्रमितहरु अहिले क्वारेन्टाइनमै रहेका छन् । बुधबार छिन्नमस्ता गाउँपालिकामा एक महिलासहित ६ जना र बोदेबर्साइन नगरपालिकामा ३ जना संक्रमति थपिएको थियो ।
नयाँ थप भएको संक्रमितहरुको पीसीआर परीक्षण बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घरानमा गरिएको स्वास्थ्य कार्यालय सप्तरीका निमित प्रमुख दुनियालाल यादवले जानकारी दिए । उनीहरु सबै जना भारतको विभिन्न स्थानबाट आएका व्यक्तिहरु रहेको पनि उनले बताए ।
जिल्लाको बोदेबर्साइन नगरपालिकामा २४, डाक्नेश्वरी नगरपालिकामा १२, राजगढ गाउँपालिकामा १३, हनुमाननगर कंकालीनी नगरपालिकामा १२, छिन्नमस्ता गाउँपालिकामा १५, राजविराज नगरपालिकामा १२, बलान बिहुल गाउँपालिकामा २७, सुरुङ्गा नगरपालिका, विष्णुपुर गाउँपालिका, तिरहुत गाउँपालिका, शम्भुनाथ नगरपालिकामा एक÷एक र कञ्चनरुप नगरपालिकामा दुई जना संक्रमित पुगेको स्वास्थ्य कार्यालयका निमित प्रमुख यादवले जानकारी दिए ।
जिल्लामा हालसम्म चार जना निको भएर घर फर्किसकेका छन् भने थप २० जनालाई डिस्चार्ज गर्ने अवस्थामा रहेको बताइएको छ ।