देवराम यादव/२५ बैशाख ०७७, राजविराज । सप्तरीको शम्भुनाथ नगरपालिका २ भलुवाहीमा जङ्गली हात्तीको आक्रमणमा परी एक महिलाको बिहीबार मृत्यु भएको छ ।
राती करिब एक बजेको समयमा आएको जङ्गली हात्तीले आक्रमण गर्दा स्थानीय ३८ वर्षीया जानकी मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
घरमा हात्ती आएको थाहा पाएपछि श्रीमान पेशल मगरसँग घरबाट बाहिर भाग्ने क्रममा हात्तीको आक्रमणबाट घाइते मगरको उपचारका लागि राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पताल पु-याइएको थियो । अस्पतालले मगरलाई तत्कालै मृत घोषणा गरेको प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक तिलक भारतीले जानकारी दिए ।
एक प्रहरी हबल्दारको बिहीबार बिहान मृत्यु
यस्तै जिल्ला प्रहरी कार्यालय सप्तरीभित्र स्ट्यान्डवाय ड्युटीमा खटिएका एक प्रहरी हबल्दारको बिहीबार बिहान मृत्यु भएको छ । यसअघि जिल्लामै एक जना सशस्त्र प्रहरीका असईको पनि ड्यूटी गरिरहेकै अवस्थामा मृत्यु भएको थियो ।
जिल्ला प्रहरी कार्यालय, राजविराजमा कार्यरत प्रहरी हवल्दार रामबहादुर मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक तिलक भारतीले जानकारी दिए ।
उदयपुर जिल्ला निवासी ३७ वर्षीय मगरको कार्यालयभित्रै स्ट्यान्डवाई ड्युटी गरिरहेको बेला एक्कासी मृत्यु भएको बताइएको छ ।
उनको मृत्युबारे तत्काल केही भन्न नसकिने र पोष्टमार्टम रिपोर्ट आएपछि मात्रै थाहा हुने बताइएको छ ।
सशस्त्र प्रहरीका असईको मृत्यु
यसअघि गत सोमबार भारतसँग सीमा जोडिएको जिल्लाको बोदे बर्साइन नगरपालिका ९ देउरीमा ड्युटीमा खटिएका सशस्त्र प्रहरीका असई कुलबहादुर कार्कीको मृत्यु भएको थियो ।
सवारी दुर्घटनामा परी एक जनाको मृत्यु
पूर्व पश्चिम लोकराजमार्ग अन्तर्गत सप्तरीको अग्निसाईर कृष्णासावरण गाउँपालिका २ सितापुरमा बिहीबार बिहान ५ः५० बजेको समयमा सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ ।
सो लोक राजमार्गमा पूर्वबाट पश्चिम तर्फ जादै गरेको गरेको ना.३ ख.६१२६ नम्बरको रोकी राखेको ट्रकमा सोही दिशातर्फ जाँदै गरेको स८प ५६२९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई ट्रकमा ठोकिदा मोटरसाइकल सवार एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परी मोटरसाइकलमा सवार अग्निसाईर कृष्णसावरण गाउँपालिका ३ बस्ने ३६ वर्षीय तरुण सरदार र ३५ वर्षीय बिक्रम सरदारको टाउको लगायत शरीरको बिभिन्न भागमा गम्भीर चोट लाग्दा उपचारको लागि राजविराज स्थित गजेन्द्र नारायण सिह अस्पताल ल्याउने क्रममा बिक्रम सरदारको बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
साडीको पासो लगाई झुण्डिएर आत्महत्या
यसैगरी बिहीबारै ११ बजेको समयमा राजविराज नगरपालिका २ शिव टोल बस्ने संदिब मण्डलको श्रीमती २५ वर्षीया बर्षा देवी मण्डलले आफ्नै घरको सुत्ने कोठाको सिलिङ पंखामा साडीको पासो लगाई झुण्डिएर आत्महत्या गरेकी छन् ।
झुण्डिएको अवस्थामा उनको श्रीमानले देखेपछि पासो काटेर उपचारको लागि राजविराज स्थित गजेन्द्र नारायण सिंह अस्पताल ल्याउने क्रममा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ । दुबै घटनाको थप अनुसन्धान कार्य भइरहेको प्रहरी प्रवक्ता तिलक भारतीले जानकारी दिएका छन् ।