सप्तरीमा थारु सांस्कृतिक संग्रहालय उद्घाटन

३ कार्तिक ०७७, सप्तरी । जिल्लाको कञ्चनरुप नगरपालिका वडा नम्बर ६ जमुवामा थारु सांस्कृतिक संग्रहालयको उद्घाटन गरिएको छ ।

सोमबार थारु सांस्कृतिक संग्रहालयको उद्घाटनसँगै कोशी टप्पु वन्यजन्तु आरक्ष सुनसरीका प्रमुख अधिकृत रामदेव चौधरीले थारुहरूको कला संस्कृतिको संरक्षण संवर्द्धन गर्न आवश्यक रहेको बताए ।

यस्तै कञ्चनरुप नगरपालिकाका नगर प्रमुख बसन्त कुमार मिश्रले कञ्चनरुप नगरपालिका प्रदेश नम्बर २ मा बालमैत्री घोषणामा पहिलो रहेको बताउँदै थारु सांस्कृतिक संग्रहालय निमार्णमा पनि पहिलो पालिका हुनु पुगेको बताएका थिए ।

थारु संग्रहालयलाई अगाडि बढाउन सबै एकजुट भएर लाग्नुपर्ने बताउँदै उनले विभिन्न जातजातिहरूको भेषभुषा, कला संस्कृति लोप भइरहेको अवस्थामा थारु जतिको भेषभुषा, तथा थारु जतिले प्रयोग गर्ने सामाग्रीहरूलाई एक ठाउँमा संरक्षण गर्ने उद्देश्यले सो संग्राहलयको निमार्ण गरिएको बताए ।

कोशी टप्पु वन्यजन्तु आरक्ष कार्यालय पश्चिम कुशाहा सुनसरीबाट रु. ५५ लाख आर्थिक सहयोग र पूर्व पिप्रा, धरमपुर, घोघनपुर उपभोक्ता समिति सप्तरीको २५ प्रतिशत जनश्रमदानबाट थारु सांस्कृतिक संग्रहालयको निमार्ण गरिएको कोशी टप्पु वन्यजन्तु आरक्ष पूर्व पिप्रा, धरमपुर, घोघनपुर उपभोक्ता समितिका अध्यक्ष बच्चुलाल चौधरीले जानकारी दिए ।

उनले संग्रहालयमा थारु जातिको पूर्वजहरूदेखि लिएर हालसम्म लगाउने पहिरन, गरगहना, कृषि औजार, प्रयोग गरिने हातहतियार, वाद्यवादन, विवाहमा प्रयोग गरिने सामाग्रीहरू राखिने बताइएको छ ।