सप्तरीमा प्रहरी र गाँजा तस्करबीच गोली हानाहान, ३ जना पक्राउ

१९ माघ ०७५, राजजिराज । सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १३ गोबरगाढामा प्रहरी र गाँजा तस्कर समुहबीच दोहरो गोली हानाहान भएको छ ।

प्रहरीले दोहोरो भिडन्त भएको ठाउँबाट एक भारतीयसहित ३ जनालाई पक्राउ गरेको छ भने भारततर्फ तस्करी गरी लैजादै गरेको ४१ किलो अवैध लागू औषध गाँजा बरामद गरेको छ ।

पक्राउ पर्नेहरुमा भारत विहार राज्य सिपौल जिल्लाका ६५ बर्षिय उदय मुखिया र सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १४ का हिरा मुखिया तथा ४५ बर्षिय लालबाबु राय छन । उनीहरु लामो समय देखि गाँजा तस्करीमा संलग्न रहेको प्रहरीको भनाई छ ।

भारतीय सिमासँग जोडिएको गोबरगाढामा भारतीय तस्कर सँग मिलेर स्थानिय तस्करहरु गाँजा लिएर भारत तर्फ लैजादै गरेको सूचना प्रहरीलाई प्राप्त भएको थियो । सूचना प्राप्त भएपछि यहाँ स्थित शसस्त्र प्रहरीबल गण नं. ६ बाट राती ८ बजे तिर हतियार सहितको टोली परिचालन गरेको थियो ।

टोली पुग्दा प्रहरीलाई लक्षित गरी तस्कर समुहको तर्फबाट २ राउण्ड गोली प्रहार भएपछि प्रहरीको तर्फबाट पनि जवाफी कार्यवाही भएको शसस्त्र प्रहरी बल गण नं. ६ का प्रहरी उपरीक्षक खेम बहादुर थापाले बताए ।

उनका अनुसार घटना स्थलबाटै ३ जना पक्राउ परेपनि २ जना अध्यारोको फाइदा उठाई सिमापारी भारततर्फ भाग्न सफल भएको थिए । दोहरो गोली हानाहानमा प्रहरी तर्फबाट एक राउण्ड र तस्कर समूहबाट २ राउण्ड गोली चलेको थियो । गोली हानाहान भएको स्थलबाट तस्करीका लागि सेतो बोरामा ठिक्क पारी राखिएको १४–१४ केजीको प्याकेट गरी ४१ केजी गाँजा बरामद गरिएको र पक्राउ परेका तस्करहरुलाई उक्त परिमाणको गाँजा सहित शनिबार विहान जिल्ला प्रहरीको कार्यालयको जिम्मा लगाइएको प्रहरी उपरिक्षक थापाले जानकारी दिए ।

पक्राउ परेकाहरुलाई आईतबार पत्रकार सम्मेलनको आयोजना गरी सार्वजनिक गरिने जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख राजेन्द्र विष्टले जानकारी दिए ।

तपाइको मत