काठमाडौं । अत्तरखेलस्थित नेपाल मेडिकल कलेज (एनएसमी) ले समय अगावै जन्मिएका जुम्ल्याहा शिशुको २ महिना लामो सघन उपचारपछि ज्यान बचाउन सफल भएको छ ।
गत माघ १ गते शल्यक्रियामार्फत् जन्मिएका जुम्ल्याहा शिशुको कलेजले ज्यान बचाउन सफल भएको हो ।
सर्लाही, लालवन्दी १ की जीताकुमारी चौधरीको गर्भबाट ३० हप्ताका जुम्ल्याहा शिशु निकाल्दै गर्दा उनीहरुको स्वास्थ्यमा गम्भिर समस्या देखा परेको थियो ।
एनएमसीका क्रिटिकल युनिटका प्रमुख प्रा.डा. गणेश साहले भने, ‘समय अगावै जन्मिएका जुम्ल्याहा शिशुहरुको उपचार गर्नु आफैंमा चुनौतिपूर्ण थियो । उनीहरुको जन्मदै स्वासप्रस्वासमा समस्या, निमोनिया, रगतको प्लेटेटको मात्रा कम भएको र हेमोग्लोविन समेत कम भएकोले उपचार गर्नु झनै चुनौती थियो । इन्फेक्सनको कारणले गर्दा यी बच्चाहरुको अवस्था जोखिमपूर्ण थियो ।’
जुम्ल्याहा शिशु बचाउन अस्पतालले २ महिनाको अवधिमा करिब ३० वटा रगतको प्रोडक्टहरु ट्रान्सफर गरेको बताउँदै डा. साहले भने, ‘अहिले बच्चाले तापक्रम मेन्टेन र ग्लुकोज मेन्टेन गर्न सक्छ । पहिला पाइपबाट दुध खुवाइएकोमा अहिले चम्चामा राखेर खानसक्ने भएको छ । जन्मदा ११२० र १२६० ग्रामका शिशुहरुको तौल पनि बढेको छ ।’
नेपाल मेडिकल कलेजले गरेको उपचार सेवामा सबैभन्दा बढी खुसी र आत्मसन्तुष्टी जुम्ल्याहा बच्चाका आमाबुबा देखिएका छन् ।
प्रा.डा. साहले भने, “बचचाका आमाबुबा उपचार अवधिभर अस्पताल र स्वास्थ्यकर्मीले गरेको उपचार कार्यमा विस्वास गरिरहे । कुनै बेला शिशुहरुको स्वास्थ्यवस्था एक्कासी बिग्रिँदा स्वास्थ्यकर्मीहरु अत्तालिँदा पनि उनी अत्तालिएनन् ।”
उनले शिशुका बाबुआमाको सकारात्मक सोचले पनि शिशुहरुको उपचारमा ठूलो भूमिका खेलेको बताए ।
कलेजले जुम्ल्याहा बच्चाको शारीरिक र मानसिक विकासको चक्रलाई नियाल्दै आगामी उपचार विधिहरु अपनाउने बताएको छ ।
आइतबार जुम्ल्याहा बच्चाहरु अस्पतालको लामो उपचार र बसाई पछि डिस्चार्ज भएका छन् ।
डिस्चार्ज हुँदै गर्दा क्रिटिकल केयरका युनिटहरु नै विदाई गर्न आएका थिए भने जुम्ल्याहा बच्चाका बुबा लालबाबु चौधरीले आफूहरुले माया मारिसकेको सन्तानलाई अस्पतालले बचाइदिएकोमा भावुक हुँदै खुसी व्यक्त गरेका थिए ।
कलेजका डाक्टर नर्सहरुको प्रयास र मेहनतकै कारण आफ्ना जुम्ल्याहा छोरीहरु र श्रीमतीको ज्यान बचेकोमा बचचा बुबा चोधरीले उपचारमा संलग्न क्रिटिकल केयरका डाक्टर, नर्स, स्त्री तथा प्रसुति रोग विभागका डाक्टर नर्सहरुप्रति कृतज्ञता व्यक्त गरेका थिए ।