समाचारको विषयलाई लिएर पत्रकारलाई ज्यान मार्ने धम्की

११ फागुन ०७४, रौतहट । नेपाल पत्रकार महासंघ रौतहट शाखाका अध्यक्ष रवीन्द्र साह, सचिव राजेन्द्र क्षेत्री र पत्रकार संजय सहनीलाई ज्यान मार्ने धम्की दिइएको छ ।

समाचारको विषयलाई लिएर पत्रकार सहनी र उनको पक्षमा विज्ञप्ति निकालिएको भन्दै अध्यक्ष साह, सचिव क्षेत्रीलाई ज्यान मार्ने धम्की दिइएको हो ।

रौतहट शाखाका अनुसार राजपा अध्यक्ष मण्डलका अध्यक्ष एवम सांसद अनिलकुमार झाको विषयमा केही दिन अघि समाचार लेखेको भन्दै पत्रकार सहनीलाई भौतिक कारबाहीको धम्की आएपछि सोको विरोधमा रौतहट शाखाले विज्ञप्ति जारी गरेको थियो ।

त्यस लगत्तै भूमिगत समूहका सन्तोष मिश्रा (बारुद) को नामबाट सादा कागजमा भौतिक कारबाही सहितको पत्र महासंघको कार्यालयमा फालिएको अवस्थामा फेला परेको थियो ।

अध्यक्ष साहले समाचारकै विषयमा ज्यान मार्ने धम्की आउनु दुर्भाग्य भएको बताउँदै  शान्ति सुरक्षाको लागि प्रशासनमा निवेदन दिएको बताए । उनले धम्की दिने समूहको पहिचान गरी कारबाहीको माग गरेका छन् ।

भारतको सितामाढी ठेगाना बताउँदै मिश्राको नामबाट हस्त लिखित पत्र आएको छ । भूमिगत संगठनले पत्र पठाएको हो होईन भन्ने यकिन भएको छैन । उनले गाली गलौज शब्दमा धम्की दिइएका छन् । पत्रमा केही समाजिक व्यक्तिलाई समेत गाली गलौज गरिएको छ

महासंघको पत्रपछि प्रमुख जिल्ला अधिकारी उद्धवबहादुर थापाले पत्रकारको शान्ति सुरक्षाको ब्यवस्था मिलाउन जिल्ला प्रहरीलाई पत्राचार गरेका छन् ।

महासंघका केन्द्रीय महासचिव रमेश विष्टले बिहीबार जारी गरेको विज्ञप्तिमा भूमिगत समूहको नामबाट ३ तीन दिन भित्र भौतिक कारबाही गर्न दिइएको धम्की प्रति गम्भिर ध्यानाकर्षण भएको बताएका छन् ।

समाचार प्रकाशित गरेको वा विज्ञप्ति निकालेको विषयमा पत्रकारलाई ज्यान मार्ने धम्की दिइएको घटना प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता माथिको ठाडो हस्तक्षेप भएको विज्ञप्तिमा जनाइएको छ । धम्की दिने समूहको तत्काल पहिचान गरी कानुनी कारबाही र पत्रकारलाई सुरक्षाको प्रत्याभूति दिलाउन सरकारसँग माग गरिएको छ ।

तपाइको मत