२७ असोज ०७४, काठमाडौँ । आगामी मंसिर १० र २१ गते हुने प्रतिनिधि र प्रदेशसभाको निर्वाचनको समानुपातिकतर्फको सूची बुझाउने कि मिति नै सार्ने भन्ने विषयमा दलहरुबीच छलफल हुने भएको छ ।

यसैबीच आजै प्रधानमन्त्रीले तीन दलको बैठक बोलाएका छन् ।
प्रधानमन्त्री कार्यलय सिंहदरवारमा ११ बजे बोलाइएको बैठकमा समानुपातिक सूची बुझाउने समय सार्न एमालेले आग्रह गरेपछि त्यसबारे साझा धारणा बनाउन बैठक राखिएको प्रधानमन्त्रीको सचिवालय स्रोतले जनाएको छ ।
सबै जसो राजनीतिक दलहरु निर्वाचनको तयारीमा रहे पनि निर्वाचन आयोगले सार्वजनिक गरेको पूूर्वतालिका अनुसार दलहरुले सूची बुझाउने कि मिति नै सार्ने भन्ने विषयमा छलफल गर्ने भएका हुन् ।
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि समानुपातिक तर्फको उम्मेदवार सूची असोज २९ गतेभित्र बुझाउने कार्यतालिका नजिकिएपछि राजनीतिक दलहरु उम्मेदवारको सूची तयार गर्न व्यस्त बनेका छन् ।
आयोगले प्रमुख दलसँग अपरान्ह १ बजे छलफल गर्दै
यसैबीच निर्वाचन आयोगले निर्वाचनको तयारी तथा हालसम्मका प्रगतिबारे प्रमुख राजनीतिक दलहरुसँग छलफल गर्ने भएको छ ।
अपरान्ह १ बजे हुने छलफलमा प्रधानमन्त्रीसहित संसदमा प्रतिनिधित्व गर्ने मुख्य दललाई बोलाइएको प्रवक्ता नवराज ढकालले बताएका छन् ।
आयोगले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि समानुपातिक तर्फको मतपत्र छाप्न सुरु गरेको छ भने निर्वाचन अधिकृतहरुलाई प्रशिक्षणपछि कार्यक्षेत्र पठाइसकेको छ ।













