१७ असोज ०७४, काठमाडौं । निर्वाचन आयोगले जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको छापाखानामा प्रदेश र प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक तर्फको मतपत्र छपाईको काम सुरु गरेको छ ।

निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालका अनुसार मंगलबारबाट मतपत्र छपाई सुरु भएको हो ।
करिब १ करोड ८० थान मतपत्र छापिने र कात्तिक पाँच गतेभित्र सबै मतपत्र छाप्ने लक्ष्य राखिएको ढकालले बताए ।
सरकारले प्रदेश र प्रतिनिधिसभा निर्वाचन आगामी मंसिर १० र २१ गते दुई चरणमा गर्ने निर्णय गरिसकेको छ ।
प्रमुख निर्वाचन आयुक्त डा. अयोधी प्रसाद यादवले मतपत्रको छपाइ अति नै संवेदनशील हुने भएकाले मतपत्र छपाइ र व्यवस्थापन कार्यमा हुने सानो त्रुटिले ठूलो समस्या ल्याउन सक्ने हुँदा त्रुटिरहित तरिकाबाट आ-आफ्नो जिम्मेवारी पूरा गर्न सहभागीहरूलाई निर्देशन दिएका छन् ।













