९ कार्तिक ०७९, काठमाडौं । निर्वाचन आयोगले संवत् २०७९ साल मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य तथा प्रदेश सभा सदस्य निर्वाचन अन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फ स्वीकृत उम्मेदवारहरूको अन्तिम बन्दसूची आज प्रकाशन गरेको छ ।
निर्वाचन कार्यक्रम बमोजिम प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्यको लागि राजनीतिक दलहरूले पेश गरेको बन्दसूचीको जाँचबुझ गरी प्रतिनिधिसभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका, २०७९ को दफा २८ तथा प्रदेश सभा सदस्य समानुपातिक निर्वाचन निर्देशिका, २०७९ को दफा २८ बमोजिम बन्दसूची कायम गरिएको निर्वाचन आयोगले जनाएको छ ।
उक्त सूची आयोगको वेभसाइट https://election.gov.np/np/page/final-closed-list मा प्रकाशन गरिएको छ ।
प्रकाशित सूचीमा प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि २१९९ उम्मेदवार रहेका छन् ।
यसैगरी प्रदेश सभा सदस्य निर्वाचनतर्फ प्रदेश नं.१ को लागि ६१६ जना, मधेश प्रदेशको लागि ८६३ जना, बागमती प्रदेशको लागि ७५४ जाना, गण्डकी प्रदेशको लागि ३४४ जना, लुम्बिनी प्रदेशको लागि ५७९ जना, कर्णाली प्रदेशको लागि २०० जना र सुदुरपश्चिम प्रदेशको लागि ३५२ जना उम्मेदवारहरु रहेका छन् ।
सो समानुपातिकतर्फ दलहरुले पेश गरेको बन्दसूचीमा नाम समावेश भएका मध्ये दाबी विरोधको जाँचबुझ, जरिवाना नतिरेका, लाभको पदमा रहेका र कालोसूचीमा रहेका ५५० जना व्यक्तिहरुको नाम सूचीबाट हटाइ यसअघि सार्वजनिक भइसकेको छ ।
उक्त प्रणालीतर्फ लागि राजनीतिक दलहरूले पेश गरेको बन्दसूचीमा प्रतिनिधिसभा सदस्य तथा प्रदेश सभा सदस्यमा गरी ६४५७ जना उम्मेदवारहरू रहेका थिए ।













