समानुपातिक सांसद चयनमा राष्ट्रिय स्वतन्त्र पार्टीभित्र असन्तुष्टि

२२ मंसिर ०७९, काठमाडौं । समानुपातिक सांसद चयनका क्रममा विधि, पद्दति विपरीत गरेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताले असन्तुष्टि जनाएका छन् ।

समानुपातिकको बन्दसूचीमा रहेका उम्मेदवारबाट १३ जना चयन गर्दा पार्टीको विधि, पद्दति, बन्दसूचीको क्रमसंख्या जस्ता मान्यता मिच्न खोजिएको भन्दै कार्यकर्ताले असन्तुष्टि जनाएका हुन् ।

उनीहरुले बिहीबार पार्टी कार्यालयमा धर्ना समेत दिएका छन् । धर्नामा सहभागी राष्ट्रिय स्वतन्त्र पार्टी सुनसरीका अध्यक्ष लालविक्रम थापाले ‘प्राइमरी इलेक्सन’ बाट समानुपातिक पद्धतिका उम्मेदवारको बन्दसूची तय गरिएकाले त्यसै अनुसार सांसदहरु चयन हुनुपर्ने बताए ।

रास्वपाका कतिपय समानुपातिक उम्मेदवारले ‘प्राइमरी इलेक्सन’मा पाएको मत अनुसार निर्धारण गरिएको क्रम मिच्न नहुनेमा जोड दिएका छन् ।