तस्बिर : कमल पौडेलको फेसबुकबाट ।
कमल पौडेल
११ साउन, खर्वाङ । सोमबार साँझदेखि परेको अविरल वर्षाको कारण बढिघाट नदीमा आएको बाढीले सयौं रोपनी खेत बगरमा परिणत भएको छ । तटीय क्षेत्र उच्च जोखिममा परेका छन् ।
बाढीका कारण बागलुङको भिमगिठेको खाल र गुल्मीको नेटा जोड्ने खालको पुल, बागलुङको ग्वालीचौर बालुवा र गुल्मीको पौंदिअमराई जोड्ने बालुवाको पुल तथा गुल्मीको वामी र मुसिकोट जोड्ने सुदीको पुल बगाउँदा वारिपारिको सम्बन्ध विच्छेद भएको छ । ती पुल सबै झोलुङ्गे हुन् ।

तस्बिर : कमल पौडेलको फेसबुकबाट ।
निरन्तर पानी परिरहेको र बढिघाटको बहाव नघटेको कारण तटीय क्षेत्रमा कटान रोकिएको छैन् । बाढीका कारण खर्वाङमा रहेको तटीय क्षेत्रको झण्डै ३५ मुरी खेत पुरिएको छ । गुल्मीको मुसिकोटको वडा नं. ६ र ७ मा रहेको बगुवाको सयौं मुरी खेतमा नदी बगिरहेको छ भने बाढीले निरन्तर कटान गरिरहेको छ ।
वामी गाविसको वडा नं. १ मा रहेको सुदिको फाँटको तल्ल्ऽो भागमा नदी बगिरहेको छ । सबै डुबानमा परेको छ । भिमगिठेको खाल बजारका केही घर बाढीले भत्काएको छ भने पूरै बजारमा जोखिम बढेको छ ।
त्यस्तै वर्षाको कारण दरमखोला लघुजल विद्युत परियोजनाको नहर भत्किएको छ । विद्युत अवरुद्ध छ । बढिघाट खोला लघु जलविद्युत परियोजना नेटा उच्च जोखिममा परेको छ । मध्य पहाडी लोकमार्गको ठाउँठाउँमा पहिरो खस्दा सडक पूर्णरुपले बन्द भएको छ ।
खर्वाङ र वामी टक्सार जोड्ने सडकमा पहिरो खस्दा यातायात सम्बन्ध विच्छेद भएको छ । गुल्मीको चोरकाटे बजार डुबानमा परेको छ ।
भुवाचिदिको तल्लो भागमा क्षति पुगेको छ । बागलुङको ग्वालीचौरको तटीय क्षेत्रमा बाढीले केही क्षति गरेको छ भने बिस्तारै बहाव हुँदै गई रहेको छ ।