२० फागुन, काठमाडौं । सरकारका मुख्यसचिव सोमलाल सुवेदी एसियाली विकास बैंक(एडीबी)को बैकल्पिक कार्यकारी निर्देशक हुने भएका छन् ।
मुख्यसचिवमा नियुक्त भएको एक वर्ष नबित्दै सुवेदी एडीबीको कार्यकारी निर्देशक भएर फिलिपिन्सको मनिला जान लागेका हुन् । मुख्यसचिवको पदाबधि तीन वर्षको हुन्छ ।
मंगलबारको मन्त्रिपरिषद् बैठकले सुवेदीलाई एडीबीको कार्यकारी निर्देशकमा पठाउने निर्णय गर्ने बताइएको छ । सुवेदीले आफूलाई एडीबी निर्देशकमा मनोनयन गर्न आग्रह गरेपछि मन्त्रिपरिषद्ले उक्त निर्णय गरेको बताइएको छ ।
एडीबीका कार्यकारी निर्देशकको मासिक तलब १८ हजार डलर हुन्छ । उक्त पदमा यसअघि नेपालका तर्फबाट डाक्टर गोविन्दबहादुर थापाले काम गरेका थिए ।
स्रोतका अनुसार सुवेदी एडीबीमा गएपछि मुख्यसचिवका लागि अर्थसचिव शान्तराज सुवेदी र शिक्षासचिव शान्तबहादुर श्रेष्ठको दाबेदारी छ ।नेपालले एडीबीको बैकल्पिक कार्यकारी निर्देशक, वरिष्ठ सल्लाहकार र सल्लाहकारमा मनाेनयन गर्ने पालो पाउँछ ।