कांग्रेसले सरकारलाई भन्यो, उद्दारमा मानवीय भावना कम, व्यापारको मस्तिष्क धेरै खपत

६ भदौ ०७७, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले देशको अर्थतन्त्रलाई भरथेग गरिरहेका अन्नदातालाई सरकारले ‘वर्ग शत्रु’को व्यवहार गरेको भन्दै उद्दारमा मानवीय भावना कम, व्यापारको मस्तिष्क धेरै खपत बताएको छ ।

कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले शनिबार एक अपील मार्फत् अनुकुल अवस्थामा देशमा रेमिटेन्स पठाएर अर्थतन्त्रलाई भरथेग गरिरहेका अन्नदातालाई प्रतिकुल बेलामा सरकारले ‘वर्ग शत्रु’को ब्यवहार गरेको बताएका हुन् ।

“सरकारको पछिल्लो निर्णयअनुसार सरकारले विदेशमा अप्ठ्यारोमा परेका नेपालीलाई उद्दार त गर्न लाग्दैछ तर मानवीय भावना कम उद्धारमा व्यापारको मस्तिष्क धेरै खपत भएको देखिन्छ,” कांग्रेसको अपीलमा भनिएको छ, “अनुकुल अवस्थामा देशमा रेमिटेन्स पठाएर अर्थतन्त्रलाई भरथेग गरिरहेका अन्नदातालाई प्रतिकुल बेलामा सरकार किन गर्दैछ ‘वर्ग शत्रु’ को व्यवहार ?”

सरकारलाई सर्वोच्चको आदेश पालना गर्न सचेत गराउँदै नेपाली कांग्रेसले सरकारी खर्चमै क्वारेन्टाइन, पिसिआर परीक्षण र गाउँसम्म पुग्ने प्रबन्ध मिलाउन आग्रह समेत गरिएको छ ।

मन्त्रिपरिषद बैठकका निर्णयहरु सार्वजनिक गर्न शुक्रबार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता युवराज खतिवडाले भदौं १६ गतेदेखि अन्तर्राष्ट्रिय उडान खुला गर्ने निर्णय भएको बताएका थिए भने उनले कोरोना परीक्षणको व्यवस्था असहज रहेका मुलुकहरुमा नियमित उडान नहुने भन्दै आरटी पीसीआर परीक्षण सहज भएका मुलुक तथा सहरहरु मलेसिया, युएई, दक्षिण कोरिया, थाइल्याण्ड, जापान, चीन, हङकङ, अष्ट्रेलिया, क्यानडा, अमेरिका र युरोपेली मलुकमा मात्र नियमित उडान भर्ने जानकारी गराएका थिए ।

ती मुलुकमा रहेका नेपाली कुटनितिक नियोगले सिफारिस गरेको नामावलीका आधारमा मात्रै उडान गर्ने मन्त्रिपरिषद्ले निर्णय लिएको भन्दै खतिवडाले नेपाल आउन चाहने यात्रुले ७२ घन्टा अघिको आरटी पीसीआर परीक्षण रिर्पोट नेगेटिभ भएको प्रमाण पेश गर्नुपर्ने, साथै यात्रुहरुले विदेशबाटै कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को वेभसाइटमा रहेको फर्म अनिवार्य भरेर साथैमा ल्याउन वा बारकोड बुझाउन पर्ने, यात्रुहरु ७ दिनसम्म अनिवार्यरुपमा होटल क्वारेन्टाइनमा बस्नै पर्ने, होटलको बसाइ सकिएसँगै नेपालमा पुनः कोरोना परीक्षण हुने त्यसपछि पनि यात्रुहरुले थप १४ दिन होम क्वारेन्टाइन बस्नुपर्ने बताएका थिए ।

मन्त्रिपरिषद्को निर्णय सार्वजनिक भएसँगै कांग्रेसले महंगो चार्टर फ्लाईटको टिकटदेखि सबै खर्च आफैंले व्यहोर्नुपर्ने सरकारी निर्णयले श्रमिकलाई पीडामाथि पीडा थपेको बताएको छ ।

कांग्रेस प्रवक्ता शर्माले जारी गरेको अपील :

खाडीका श्रमिक ‘वर्ग शत्रु’ हुन् प्रधानमन्त्रीज्यू ? सर्वोच्चको आदेश उल्लंघन गर्दै महंगो टिकटसँगै सबै खर्च बोकाउनु मानवीयता कि ‘सर्वहारामाथि अधिनायकवाद ?’

गएको असार १ गते सोमबार सम्मानित सर्वोच्च अदालतले ‘वैदेशिक रोजगारीमा गएर अप्ठ्यारोमा परी नेपाल आउन चाहेका नेपाली नागरिकलाई सरकारी कोषबाटै उद्धार गर्न’ सरकारका नाममा आदेश जारी गरेको थियो। न्यायाधीशहरु आनन्द मोहन भट्टराई र हरिप्रसाद फुँयालको इजलासले गरेको आदेश कार्यान्वयन गर्न सरकारले कुनै तदारुकता देखाएन। आदेशको दुई महिनापछि पुनः महंगो चार्टर फ्लाइटको टिकटदेखि अन्य सबै खर्च गरेर श्रमिकको पीडामाथि पीडा सरकारले थप्न लागेको समाचारले नेपाली कांग्रेसलाई गम्भीर तुल्याएको छ।

(१) प्रवासी नेपाली जो जुन देशमा हुन् अप्ठ्यारोमा परेकालाई स्नेह र सहाराको हात दिनु राज्यको दायित्व थियो र हो। राज्यको यो दायित्वबारे नेपाली कांग्रेसले लिखित र मौखिक रूपमा निरन्तर प्रधानमन्त्रीदेखि मन्त्री हुँदै सम्बन्धित निकाय समक्ष राख्दै आएको छ। आज पुनः सार्वजनिक रुपले त्यही माग र आग्रह दोहोर्‍याउँदै प्रश्न गर्न चाहन्छौं ६ महिनादेखि बेरोजगार भएर बसेका खाडीका श्रमिकलाई चार्टर फ्लाइटको महंगो टिकट खरिद गर भन्नू कति न्यायोचित छ? सरकारको यो निर्णय सर्वोच्चको असार १ को निःशुल्क उद्धार गर भन्ने आदेशको उल्लंघन र अदालतको मानहानी हो कि होइन प्रधानमन्त्रीज्यू?

(२) मन्त्रीपरिषद्को पछिल्लो बैठकले दिनमा केवल ३ वटा उद्धार फ्लाईटको अनुमति दिएको छ। भदौ १६ बाट शुरु गर्ने भनिएको नियमित अन्तर्राष्ट्रिय उडानमा आउन प्रतिबन्धित गरिएका कतिपय देशका नेपाली श्रमिक यो न्यून संख्याको फ्लाइटबाट नेपाल आइपुग्न महिनौं लाग्ने देखिन्छ। उद्धारको यो कछुवा गतिभित्र विदेशका अन्य देशमा पनि पीडामा रहेका नेपालीको पीडा बुझ्ने हृदय विल्कुलै देखिएन।

(३) सरकारको पछिल्लो निर्णयअनुसार सरकारले विदेशमा अप्ठ्यारोमा परेका नेपालीलाई उद्धार त गर्न लाग्दैछ तर मानवीय भावना कम उद्धारमा व्यापारको मस्तिष्क धेरै खपत भएको देखिन्छ। एक त चार्टर फ्लाईटको महंगो टिकट काट्नुपर्ने, दोस्रो होटेल क्वारेन्टाइनमा सात दिनको खर्च व्यहोर्नुपर्ने, तेस्रो पिसिआर परिक्षण आफैं गराउनुपर्ने अनि चौथो गाउँ पुग्ने यातायात खर्च समेत आफैं हाल्नुपर्ने। अनुकुल अवस्थामा देशमा रेमिटेन्स पठाएर अर्थतन्त्रलाई भरथेग गरिरहेका अन्नदातालाई प्रतिकुल बेलामा सरकार किन गर्दैछ  ‘वर्ग शत्रु’ को व्यवहार ?

(४) रोजगारी गुमाएका, बेतलवी बिदा पाएका र बेखर्ची बनिसकेका श्रमिकलाई कल्याण कोषको रकम मार्फत् हवाई टिकट व्यवस्था गरेर निःशुल्क उद्धार गर्न नेपाली कांग्रेस सरकार समक्ष पुरानो माग दोहोर्‍याउन चाहन्छ।

यसबारे सर्वोच्चको आदेश पालना गर्न पनि सरकारलाई सचेत गराउँदै नेपाली कांग्रेस सरकारी खर्चमै क्वारेन्टाइन, पिसिआर परीक्षण र गाउँसम्म पुग्ने प्रबन्ध मिलाउन पनि सरकारलाई आग्रह गर्दछ। उद्धार गरिने नागरिकको प्रदेश र स्थानीय तह गरी तीन तहका सरकारको समन्वयमा फरक-फरक कार्य गर्ने नेतृत्व क्षमता अपेक्षित छ।

उच्च मानवीय भावना साथ ‘संकटमा उद्धार मातृभूमिको कर्तव्य’ आत्मसात गर्न नेपाली कांग्रेस सार्वजनिक रुपले नेपाल सरकारलाई अपील गर्दछ।

जय नेपाल !

विश्वप्रकाश शर्मा
प्रवक्ता एवं प्रमुख
सूचना, संचार तथा प्रचार विभाग