२६ माघ ०७४, काठमाडौं । सरकारले राष्ट्रियसभाका तीन सदस्य सिफारिस गर्ने अधिकार प्रधानमन्त्री शेरबहादुर देउवालाई दिएको छ ।
शुक्रबार बसेको मन्त्रिपरिष्द बैठकले थप परामर्श गरी सो बारेमा निर्णय गर्न प्रधानन्त्रीलाई जिम्मा दिइएको सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले बताए ।
यसैगरी बैठकले राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई नेपाली सेनाका मानार्थ सहायकरथीको दर्जा दिने, औद्योगिक बौद्धिकसम्बन्धी कानुन संशोधन र तर्जुमा गर्न सैद्धान्तिक सहमति दिने, नेपाल र कतारबीच सरकारी तथा उच्च ओहोदाका राहदानीवाहकलाई प्रवेशाज्ञा शुल्क छुट दिने निर्णय गरेको छ ।
त्यसैगरी बुढीगण्डकी आयोजनाको लगानीसम्बन्धी प्रतिवेदन स्वीकृत गरिएको, तपस्वी रामबहादुर बम्जनले आफ्नो आश्रयस्थल बनाएको बारा जिल्लाको वनक्षेत्रलाई धार्मिक वन घोषणा गर्ने निर्णय आजको बैठकले गरेको मन्त्री बस्नेतले जानकारी दिए ।
यही माघ २४ गते सम्पन्न राष्ट्रियसभा निर्वाचन सम्पन्न भएपछि मन्त्रिपरिषदबाट सिफारिस भई राष्ट्रपतिबाट नियुक्त हुने तीन सदस्यबारे निर्णय हुन बाँकी छ ।
राष्ट्रियसभा सदस्यका लागि कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेल, कांग्रेसका पुराना नेता गोपाल बस्नेत र चाँदनी जोशीको नाम चर्चामा छ । तर, एमालेले भने तीन सदस्य सिफारिस गर्ने अधिकार नयाँ सरकारलाई हुने बताउँदै आएको छ ।