६ पुस ०७७, काठमाडौं । राष्ट्रिय जनमोर्चाले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।
सोमबार राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले एक वक्तव्य प्रकाशित गरेर सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको बताएका हुन् ।
राष्ट्रिय जनमोर्चाले प्रधानमन्त्री ओलीले प्रतिनिधिसभा विघटन गरेर असंवैधानिक, अप्रजातान्त्रिक, अधिनायकवादी कार्य गरेको भन्दै त्यसको विरोध र भत्सर्ना समेत गरेको छ ।
‘प्रतिनिधिसभा विघटन गर्ने गलत काम र त्यसले स्वयं गणतन्त्र, राष्ट्रियता तथा धर्म निरपेक्षतामाथि पार्ने प्रतिकूल परिस्थिथितिका कारण सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेका छौँ,’ जनमोर्चाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।