२४ चैत ०७६, धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले प्रदेश सरकारमाथि सामाजिक सञ्जालबाट भ्रमपूर्ण प्रचार भइरहेको भन्दै त्यसको पछि नलाग्न आग्रह गरेका छन् ।
कोरोना भाइरस (कोभिड–१९)को चपेटामा परेको प्रदेशलाई मुक्त गराउन विभिन्न प्रयासहरु भइरहेको अवस्थामा पनि सरकारमाथि भ्रामक प्रचार भइरहेकाले त्यसको पछि नलाग्न आग्रह गर्दै मुख्यमन्त्री भट्टले प्रदेशबासीलाई गरेको सम्बोधनमा आफू आवश्यक काम गर्ने, विज्ञापन नगर्ने बताएका हुन् ।
“सम्बद्ध पक्षसँग नियमित छलफल गरेर आवश्यक निर्देशन दिइरहेको छु, कामको अनुगमन गरिरहेको छु” मुख्यमन्त्री भट्टले, “तर पनि केहीले प्रदेश सरकार र ममाथि सामाजिक सञ्जालबाट आक्रमण गरिरहेका छन्, सरकारले आवश्यक काम गरिरहेको छ, जसको विज्ञापन गर्न आवश्यक ठान्दिनँ ।”
उनले प्रदेश सरकारले हालै ४० करोड रुपियाँको कोरोना भाइरस नियन्त्रण तथा उपचार कोष स्थापना गरेको र उक्त कोषमा मन्त्री, सांसद, बैङ्कसहित जनस्तरबाट समेत गरेर थप ५७ लाख रुपियाँ सहयोग जम्मा भइसकेको बताएका छन् ।
मुख्यमन्त्री भट्टले कोरोना उपचारका लागि रकम अभाव हुन नदिने भन्दै प्रदेशवासीलाई ढुक्क हुन आग्रह समेत गरेका छन् ।
“कोरोना रोग नियन्त्रण र व्यवस्थापन गर्न ११ करोड ५० लाख रुपियाँ विनियोजन गरिसकेका छौँ” उनले भने, “कारोनामै काम गर्नका लागि ८८ वटा स्थानीय तहलाई तीन करोड सःशर्त अनुदान पनि दिएका छौँ ।” मुख्यमन्त्री भट्टले भने, “त्यसमध्ये पाँच लाख रुपियाँ उपमहानगरपालिकालाई, चार लाख रुपियाँ नगरपालिकालाई र तीन लाख रुपियाँका दरले गाउँपालिकालाई अनुदान दिइएको छ । काम गरेर खाने मजदुर लगायतका वर्गको खातामा राहत पठाउन खोजिरहेका छौँ, त्यसका लागि तथ्याङ्क सङ्कलन पनि भइरहेको छ । खाता नभएका निकै विपन्न, असहायलाई खाद्यान्न सामग्री वितरण पनि गरिरहेका छौँ ।”
उनले भ्रामक प्रचारको विश्वास नगर्न सुदूरपश्चिमवासीलाई अनुरोध गर्दै परिणाम निकाल्ने गरेर काम गरिरहेकाले प्रदेशवासीलाई लकडाउन पालना गर्न र देशबाहिर वा देशभित्रैबाट पनि गाउँ बस्ती पुगेकालाई अनिवार्य क्वारेन्टाइनमा बस्न आग्रह गरेका छन् ।
सुदूरपश्चिम प्रदेशमा अहिलेसम्म कैलालीमा ३ जना र कञ्चनपुरमा १ जना गरी जम्मा ४ जना कोरोना संक्रमित भेटिएका छन् । तीमध्ये २ जना भारतबाट र १ जना संयुक्त अरब इमिरेट्स (यूएई) को दुबईबाट आएका हुन् भने १ जनालाई बाहिरबाट आएका व्यक्तिबाट सरेको हो ।