सरकारले नागरिकको बाँच्न पाउने अधिकारलाई सुरक्षित गर्नु पर्दछ – नारायण हमाल

अन्टुफ प्रदेश नं ५ का उपाध्यक्ष नारायण बहादुर हमाल सुनौली नाकामा भारतबाट नेपाल आएका मजदुरहरुलाई खानाको प्रबन्ध गर्दै ।

भरत भट्टराई/रुपन्देही । गत डिसेम्बरदेखि चीनको वुहान सहरबाट विश्वमहामारीको रूपमा फैलिएको कोरोना (कोभिड–१९) ले विश्वलाई नै आक्रान्त पारिरहेको बेला नेपालमा पनि त्यसको प्रत्यक्ष प्रभाव परिरहेको छ । जसका कारण दैनिक ज्यालादारी गरिखाने निम्नवर्गका श्रमिकहरु सबैभन्दा बढी प्रभावित भएको देखिन्छ ।

देश भित्र र बाहिर विभिन्न मुलुकमा रहेका नेपालीहरुको तुलनामा भारतमा मजदुरी गरेर दैनिकी चलाउने, जीवन चलाउने श्रमिकहरुको अवस्था बढी दयनीय रहेको छ । भारतले गरेको बन्दाबन्दीबाट रोजगारी गुमाएपछि बेरोजगार बनेर बस्नु पर्ने अवस्थामा पुगेका र नेपाल–भारत सीमा विवादका कारण थप अपमानित भएसँगै महिना दिन हिँडेर, जसोतसो गरेर नेपाल फर्किएका र नेपाल–भारतको सीमा नाकामा आइपुगेका नागरिकहरु साथै अति विपन्न स्थानीयहरुलाई अखिल नेपाल ट्रेड युनियन महासंघ प्रदेश नं ५ का उपाध्यक्ष नारायण बहादुर हमालले सुनौली नाकामा स्थानीय पार्टीसँगको समन्वयमा २०७७ जेठ ७ गतेदेखि आजसम्म पनि दैनिक दुई सय जनालाई निरन्तर खाना खुवाउँदै आइरहेका छन् ।

भारतबाट नेपाल आएका मजदुरहरु सुनौली नाकामा क्षेत्रमा वितरण गरिएको खाना लिन बसेको लाइन

गत चैत्र २ गतेदेखि नै कोरोना भाइरस (कोभिड–१९) संक्रमण, रोमथाम र नियन्त्रणका लागि जनचेतनामुलक कार्यक्रमसहित सेनिटाइजर, माक्स लगायत व्यक्तिगत स्वास्थ सुरक्षा सामग्री वितरण गर्दै आएका नेपाल कम्युनिष्ट पार्टी (नेकपा) रुपन्देही जिल्ला सदस्य समेत रहेका अन्टुफ प्रदेश ५ का उपाध्यक्ष हमाल मजदुर र विपन्न वर्गसँग जोडिएर निरन्तर सुनौली सीमा क्षेत्रमा खटिरहेका छन् ।

स्थानीयहरुको सहयोग र केही आफ्नो व्यक्तिगत खर्च समेत गरेर मानव सेवामा निरन्तर खटिरहेका उपाध्यक्ष हमालले अब भने खाना खुवाउन संकट परेकाले सरकारको ध्यान जानु पर्नेका जोड दिएका छन् ।

अन्टुफ प्रदेश नं ५ का उपाध्यक्ष नारायण बहादुर हमाल टोलहरुमा किटनाशक औषधि स्प्रे गर्दै

उनले हरेक नागरिकको बाँच्न पाउने अधिकारलाई सुरक्षित गर्नु राज्यको दायित्व भित्रपर्ने भन्दै अलपत्र परेका नागरिक जो रोगले भन्दा पनि भोकले ज्यान गुमाउनु पर्नेस्थितिमा रहेको भन्दै उनीहरुको जीवन रक्षामा सरकारले आवश्यक पहल लिनु पर्ने बताएका छन् ।

उपाध्यक्ष हमालले भने, “हरेक नागरिकको बाँच्न पाउने अधिकारलाई सुरक्षित गर्नु राज्यको दायित्व हो, उनीहरुको जीवन रक्षा गर्न सरकारले आवश्यक पहल लिनु पर्दछ ।”

भरत भट्टराई, अखिल नेपाल ट्रेड युनियन महासंघ (अन्टुफ )प्रदेश ५ का सचिव हुन् ।