१६ पुस ०७४, गुल्मी । नेकपा एमालेका सचिव प्रदिप ज्ञवालीले सरकारले सहमति भन्दा निहुँ खोजिरहेको बताएका छन् ।
नेता ज्ञवालीले प्रेस चौतारी गुल्मीले आइतबार आयोजना गरेको पत्रकार भेटघाटमा प्रधानमन्त्री शेरबहादुर देउवाले ताजा जनादेशको अपमान गरेर सहमति भन्दा निहुँ खोजिरहेको बताएका हुन् ।
‘सरकारले सहमति भन्दा निहुँ खोजिरहेको छ,’ ज्ञवालीले भने ।
सरकारले चुनावको मत परिणाम सार्वजनिक भएको तीन हप्ता लागिसक्दा समेत कुर्चीमै रमिता देखाइरहेको आरोप लगाउँदै नेता ज्ञवालीले ताजा जनादेशको अपमान गरेको बताए ।
उनले संविधान र कानुनको अपव्याख्या गरेर सरकारले दीर्घकालीन असर पर्ने निर्णयहरु गरिरहेको बताए ।
निर्वाचन आयोग कुनै दलको शाखा कार्यालय जस्तो
एमाले सचिव ज्ञवालीले निर्वाचन आयोगलाई कुनै दलको शाखा कार्यालय जस्तो नबनेर तटस्थ ढङ्गले काम गर्न आग्रह गरेका छन् ।
उनले निर्वाचन आयोग राजनीतिक दलको पक्ष लिएर समानुपातिकतर्फको नतिजा निकाल्न आनाकानी गर्नु लज्जास्पद विषय भएको बताए ।
‘निर्वाचन आयोग कुनै राजनीतिक दलको पक्षमा लागेर समानुपातिकतर्फको नतिजा निकाल्न आनाकानी गर्नु लज्जास्पद विषय हो,’ नेता ज्ञवालीले भने, ‘आयोग जस्तो निकाय स्वतन्त्र र निष्पक्ष हुनुपर्छ ।’
ज्ञवालीले माओवादी केन्द्र र एमालेबीच कुनै सैद्धान्तिक असहमति नभएको भन्दै एकताको बिषय केपी र प्रचण्ड वा एमाले-माओवादीको भन्दा बहुमत नेपालीको भावना भएकाले एकताप्रति कुनै शंका नगर्न आग्रह गरे ।