१२ साउन ०७४, काठमाडौं । सरकार बिस्तारपछि पहिलोपटक सिंहदरवारमा बसेको मन्त्रिपरिषद बैठकले आमरण अनसनमा बसेका डा. गोविन्द केसीसँग वार्ता गर्न वार्ता टोली बनाएको छ ।
बिहिबार सरकारले डा. केसीसँग वार्ता गर्नका लागि शिक्षा सचिव शान्तबहादुर श्रेष्ठको संयोजकत्वमा वार्ता समिति बनाएको हो । वार्ता समितिमा स्वास्थ्य मन्त्रालयका सचिव र प्रधानमन्त्री कार्यालयका सचिव सदस्य छन् ।
स्वास्थ्य मन्त्री गिरिराजमणि पोखरेलले बिहीबार वीर अस्पतालको १२८ औं वार्षिकोत्सव समारोहमा प्रा डा. गोविन्द केसीको आन्दोलनको विषय स्वास्थ्य मन्त्रालयसँग थोरै र शिक्षा मन्त्रालयसँग धेरै गाँसिएको भएपनि यसलाई एकिकृत रूपमा लिएर जानु पर्ने बताएका छन्।
पोखरेलले डा. केसीले स्वास्थ्य शिक्षा र सेवाको क्षेत्रमा महत्वपूर्ण कुरा उठाएको उल्लेख गर्दै डा. केसीसँग सम्झौता गरे पनि लागु नगर्नाले पटक-पटक अनसन हुने गरेको बताए ।
एकीकृत चिकित्सा शिक्षा ऐन पारित गर्नु पर्ने लगायतका सातबुँदे माग राख्दै डा. केसी साउन ९ गतेदेखि आमरण अनसन बसेका छन् ।
बैठकपछि सरकारको प्रवक्ताको जिम्मेवारीसमेत पाएका अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले अब अनसन नै बस्न नपर्ने गरी केसीका माग सम्बोधन गर्ने बताए ।