३ बैशाख ०७५, काठमाडौं । सरकारले महिलाहरुको पाठेघरको क्यान्सर र फिष्टुला रोगको निःशुल्क परीक्षण गर्ने घोषणा गरेको छ ।
सोमबारदेखि सरकारले सुरक्षित मातृत्व दिवसको अवसर पारेर महिलाहरुको पाठेघरको क्यान्सर र फिष्टुला रोगको निःशुल्क परीक्षण गर्ने घोषणा गरेको हो ।
सरकारले बैशाखदेखि असारसम्म ३ महिना देशभरका सबै अस्पतालहरुबाट महिलाहरुको पाठेघरको क्यान्सर र फिष्टुलाको निःशुल्क परिक्षण अभियान संचालन गर्नेछ । श्रावणदेखि असोजसम्मको ३ महिनामा ‘एक पालिका एक सुरक्षित मातृत्व कोष’ स्थापना अभियान संचालन गरिनेछ । त्यसैगरी कार्तिकदेखि पौषसम्म सुरक्षित मातृत्वसम्बन्धि चेतना जगाउन देशभर निबन्ध लगायतका प्रतियोगित्मक कार्यक्रम संचालन गरिनेछ ।
दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै स्वास्थ्य राज्यमन्त्री पदमा अर्यालले सुरक्षित मातृत्वसम्बन्धि सेवालाई सहज बनाउन देशभर ३ महिने ४ वटा अभियान आजैबाट सूरु गरिएको पनि जानकारी दिइन् ।
राज्यमन्त्री अर्यालले पुसदेखि फागुनसम्म भने किशोरीहरुले महिनावारीमा गर्ने सरसफाई सम्बन्धि चेतनामूलक कार्यक्रम संचालन गर्न लागिएको पनि जानकारी दिइन् ।
मन्त्री अर्यालले महिलाको प्रजनन् स्वास्थ्य सेवा सम्मानपूर्वक उपभोग गर्न पाउने वातावरणको सृर्जना गर्न स्वास्थ्य ऐनको आवश्यकता रहेको पनि बताइन् । हाल नेपालमा एकलाख जिवित शिशु जन्मँदा २३९ जना आमाहरुको मृत्यू हुने गरेको मन्त्रालयको तथ्याङक छ ।
यो संख्यालाई सन् २०३० सम्म ७० मा झार्ने मन्त्री अर्यालको प्रतिबद्धता जनाएकी छिन् । यस्तै सन् २०३० सम्ममा बाल तथा नवजात शिशु मृत्यु प्रतिहजार १.२ भन्दा कम झार्ने, महिला तथा बालबालिकामा हुने सबै प्रकारको हिंसा शून्यमा पुर्याउँने लक्ष्य रहेको जनाएको छ ।
अझै सम्म पनि ४१ प्रतिशत महिला घरमै सुत्केरी हुने गरेको सरकारी तथ्याङक छ ।
स्वास्थ्य मन्त्रालयले एकवर्षे नि:शुल्क कार्यक्रमहरु
बैशाख, जेष्ठ र असारमा – सरकारी सबै अस्पताहरुबाट पाठेघरको मुख र स्तन क्यान्सरको परीक्षण गरिने जनाएको छ । यस्तै फिस्टुला,क्यान्सर भए नभएको परिक्षण पनि नि:शुल्क गरिने छ ।
साउन, भदौ र असोजमा – सबै स्थानिय निकायहरुमा एक “सुरक्षित मातृत्व कोष” स्थापना गरिने छ । “एक पालिका एक सुरक्षित मातृत्व कोष” अभियान देशव्यापी बनाईने र यो कोर्ष आकस्मिक प्रसूति सेवामा उपयोग र प्रयोग गरिनेछ ।
कार्तिक, मंसिर र पौषमा– सुरक्षित मातृत्व सम्बन्धी किशोर किशोरी अवस्था देखि नै जनचेतना फैलाउने उदेश्य सहित देशव्यापी रुपमा निबन्ध र वक्तित्वकला सम्बन्धी कार्यक्रम संचालन गर्ने जनाएको छ ।
माघ र फागुनमा -किशोरीहरुलाई महिनावारी हुदाँ सरसफाईमा चेतना अभिबृद्धिका लागि सार्वजनिक विद्यालयमा अध्ययनरत छात्राहरुलाई राष्ट्रव्यापी रुपमा स्यानीटरी प्याड वितरण गर्ने मन्त्रालयले जनाएको छ ।