सरकारले रोजगारीका लागि विदेश जान नपर्ने गरी काम गरिरहेको प्रधानमन्त्रीको भनाई

२८ साउन ०७७, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफनो दैनिकी चलाउन बाहिरी मुलुक जान नपर्ने गरी सरकारले काम गरिरहेको बताएका छन् ।

बुधबार राष्ट्रिय युवा परिषद्ले आयोजना गरेको अन्तर्राष्ट्रिय युवा दिवस २०७७ लाई भर्चुअल सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् ।

उनले अबको केही वर्षमा रहरले नेपालीहरु विदेश जाने कुरा रहे पनि बाध्यताले रोजगारीका लागि कोही जान नपर्ने बताए ।

विविध रुपमा सम्पन्न देश नेपाल आर्थिकरुपमा पछाडि पर्नु बिडम्वना रहेको भन्दै प्रधामन्त्री ओलीले देशलाई विकासको गतिमा अगाडि बढाउन निरास नभई संकल्पका साथ अगाडि बढ्न युवाहरुलाई आग्रह समेत गरे ।

उनले युवाहरुको सिप, क्षमता विकास गर्न नीति, योजना बनाएर सरकारले काम गरिरहेको बताउँदै करिब ७६ अर्ब बजेट युवाहरुकै लागि छुट्याएको बताए ।