१८ बैशाख ०७७, काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीले शासन गर्ने नैतिक आधार गुमाएकोे बताएको छ ।
बुधबार पार्टी कार्यालय सानेपामा बसेको कांग्रेस केन्द्रीय समितिको बैठकपछि कांग्रेसले ओली नेतृत्वको सरकार संविधानको मूल भावनालाई भत्काउन निरन्तर लागिरहेको र एकपछि अर्को भ्रष्टाचारमा मुछिएको आरोप लगाएको छ ।
कांग्रेसले मुलुक कोभिड–१९ को गम्भीर जोखिममा रहेका बेला अत्यावश्यक स्वास्थ्य मेडिकल सामग्री खरिद गर्दा समेत भ्रष्टाचार हुनु दुर्भाग्यपूर्ण विषय भएको बताएको छ ।
विवादास्पद दुई अध्यादेश ल्याउनु, सरकार संलग्न भई सांसदलाई अपहरण गर्नु, सरकारको आलोचना गर्नेहरूलाई पक्राउ गर्ने कार्यले जनताको अभिमतको घोर उपेक्षा र अपमान भएको भन्दै कांग्रेसले भनेको छ, “नेकपाका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारले शासन गर्ने राजनैतिक एवं नैतिक आधार गुमाएको ठहर यो बैठक गर्दछ ।”
कांग्रेसले जनता समाजवादी पार्टीका सांसद डा. सुरेन्द्र यादव अपहरण प्रकरणलाई गम्भीर एवं अक्षम्य घटनाका रुपमा लिएको समेत बताएको छ । उसले यसमा संलग्न व्यक्तिहरुलाई तत्काल कानुनी कारबाही अगाडि बढाउन माग गरेको छ ।