१५ चैत, काठमाडौं । सरकारी अधिकारीकै सेटिङमा नेपाली चेलीहरु खाडी मुलुकमा बेचिन बाध्य भएको खुलासा भएको छ ।
खाडी मुलुकमा नेपाली कामदारहरुको समस्याबारे स्थलगत अध्ययन गर्न गएको व्यवस्थापिका संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध तथा श्रम समितिको टोलीले सो खुलासा गरेको हो । समितिका सभापति प्रभु साह नेतृत्वको टोलीले साउदी अरब, कुवेत, कतार र यूएईको स्थलगत भ्रमण गरेको थियो ।
मंगलबार स्वदेश फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै समितिका सभापति साहले चारै वटा मुलुकमा नेपाली कामदारको अवस्था दयनीय पाइएको बताए । नेपाली चेलीहरु खाडी मुलुकमा ४ लाख रुपैयाँसम्ममा बेचिन गरेको पाइएको पनि उनले जानकारी दिए ।
‘नेपाली कामदारहरु दोहोरो श्रम सम्झौताको मारमा पर्दा समेत त्यहाँस्थित नेपाली कूटनीतिक नियोगले कुनै पहल गरेको देखिएन,’ साहले भने, ‘नेपाली कूटनीतिक नियोग र विमानस्थलमा रहेको अध्यागमन विभागको लाचारीपनका कारण नेपाल मानव तस्करको ट्रान्जिट प्वाइन्ट बन्दै गएको छ ।’
संसदीय टोलीले श्रम सम्झौताअनुसारको काम तथा सेवा र सुविधा नदिएर नेपाली कामदारमाथि पीडा थप्ने काम पनि खाडी मुलुकहरुले गरेको जनाएको छ ।
समितिले म्यानपावर कम्पनीहरुले नेपाली कामदारमाथि ठगी गरिरहेको निस्कर्ष पनि निकालेको छ । चारवटै मुलुकमा विनाशुल्क कामदार पठाउने व्यवस्थाविपरीत नेपाली कामदारहरुबाट म्यानपावर कम्पनीहरुले ठूलो रकम असुल गरेको सभापति साहले बताए । आफूहरुसित म्यानपावर कम्पनीहरुले ठूलो रकम असुल गरी ठगी गरेको भन्दै त्यहाँ भेटिएका कामदारहरुले पीडा पोखेको उनले सुनाए ।
समितिले नेपाली महिला कामदारहरु इरान, इराक, ओमान लगायतका प्रतिबन्धित मुलुकमा अझै बेचिने गरेको पनि जनाएको छ । खाडी मुलुकमा रहेका नेपाली महिला कामदारहरु एक्जिट भिषाको अभावमा नेपाली दूतावासहरुमा शरण लिएर बस्न बाध्य भएको पनि समितिको स्थलगत भ्रमणको क्रममा पाइएको छ । उनीहरुमाथि शारीरिक शोषण समेत हुने गरेको पाइएको समितिले जनाएको छ ।
खाडी मुलुकमा गएका कामदारहरुमाथि चर्को शोषण हुने गरेको पाइएपछि समितिले धेरै कामदार रहेका चार वटा खाडी मुलुकहरुको स्थलगत भ्रमण गरी त्यहाँको अवस्थाबारे अध्ययन गरेको हो । समितिले खाडी मुलुकमा रहेका नेपाली कामदारको अवस्था बुझी उनीहरुको समस्या समाधान गर्न सरकारलाई पटक-पटक सचेत गराउँदै आएको छ ।