सरकारी कर्मचारी तथा शिक्षकहरुले पालना गर्नुपर्ने आचरण

२५ असोज ०७९, काठमाडौं । निर्वाचन आयोगले सरकारी कर्मचारी तथा अन्तर्गतका निकाय र संस्थाका कर्मचारी तथा शिक्षकहरुले पालना गर्नुपर्ने आचरण सम्बन्धमा विज्ञप्ति नै जारी गरेको छ ।

अघिल्ला निर्वाचनहरुमा सरकारी कर्मचारी विभिन्न निकायका कर्मचारी तथा शिक्षकहरुले पार्टीको विभिन्न तहका भूमिका खेलेकाले यसपटक आचरण सम्बन्धमा विज्ञप्ति नै जारी गरेको हो ।

“अनुगमन गर्दा आचारसंहिताको प्रतिकूल हुने गरी कतिपय सरकारी कर्मचारी तथा सार्वजनिक संस्थामा कार्यरत कर्मचारी र विद्यालय, महाविद्यालय वा विश्वविद्यालय तथा सोमा सम्बद्ध कर्मचारी, प्राध्यापक तथा शिक्षकहरु राजनीतिक दल र उम्मेदवारका पक्ष वा विपक्षमा प्रचारप्रसारमा संलग्न भएको पाइएको छ,” विज्ञप्तिमा उल्लेख छ, “प्रचारप्रसारमा सम्लग्न कर्मचारी तथा शिक्षकहरुले उम्मेदवारसँग तस्वीर खिचाइ बधाई र शुभकामना दिने, राजनीतिक दल र उम्मेदवाहरुका प्रचार सामग्रीहरुको शेयर र लाइक गर्ने गरेका घटनाहरु अनुगमनका क्रममा पाइएकाले आयोगले आवश्यक कारबाही प्रारम्भ गरेको छ ।”

निर्वाचन आचारसंहिता, २०७९ मा नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तह अन्तर्गतका निकाय, अर्धसरकारी तथा सार्वजनिक संस्था र सोमा कार्यरत कर्मचारी, विद्यालय, महाविद्यालय वा विश्वविद्यालय तथा सोमा सम्बद्ध कर्मचारी, प्राध्यापक तथा शिक्षक, सरकारी वा गैह्रसरकारी निकायबाट सञ्चालित परियोजना, विकास समिति तथा सोका कर्मचारीले पालना गर्नुपर्ने आचारणहरुबारे स्पष्ट व्यवस्था गरिएको छ ।