सरकारी कार्यालयले चिठीपत्र पठाउन हुलाक सेवा प्रयोग गर्ने

५ असोज ०८०, काठमाडौं । सरकारका मन्त्रालय, निकाय, कार्यालयहरूले सरकारी चिठीपत्र तथा कागजात हुलाक सेवामार्फत् आदानप्रदान गर्ने भएको छ ।

मुख्यसचिव डा. बैकुण्ठ अर्यालयको अध्यक्षतामा असोज १ मा बसेको सचिव बैठकले सरकारी कार्यालयहरूले आ-आफ्नो प्रशासन महाशाखा/शाखालाई हुलाक सेवा प्रयोग गर्न निर्देशन दिने निर्णय गरेको हो ।

पछिल्लो समय सरकारी कार्यालयहरुले चिठ्ठीपत्र लगायतका कागजातहरु प्रविधिको प्रयोग, कुरियर र कार्गो सेवामार्फत् आदानप्रदान गर्दा हुलाक सेवाको प्रयोग र आकर्षण कम हुँदै गएको छ ।

“सरकारी चिठीपत्र र कागजात हुलाक मार्फत् पठाउने व्यवस्था सुनिश्चित गर्ने, मन्त्रालय/निकाय/कार्यालयहरुले आआफ्नो प्रशासन महाशाखा/शाखाहरुलाई हुलाक सेवाको प्रयोन गर्न निर्देशन दिने” सचिवस्तरीय बैठकको निर्णयमा भनिएको छ ।

यतिबेला १९३५ सालमा स्थापित नेपाल हुलाक घरबाट सुरु भएको हुलाक सेवा प्रविधिको उच्चतम् प्रयोग, सर्वसुलभ र व्यापक हुँदै गएपछि आफ्नो अस्तित्व जोगाउने संकटमा रहेको छ ।