१४ माघ ०७७, काठमाडौं । अखिल नेपाल सरसफाई मजदुर संघका केन्द्रीय अध्यक्ष धनु दाहालले सरकारी निकायमै कार्यरत मजदुरहरुमाथि चरम श्रमशोषण भइरहेको बताएकी छन् ।
श्रमिक आपूर्तीकर्ताले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमै कार्यरत मजदुरहरुलाई खाइपाई आएको तलब सुविधा समेत कटौती गरी न्यूनतम पारिश्रमिक समेत उपलब्ध नगरेपछि अध्यक्ष दाहालले यस्तो बताएकी हुन् ।
“मजदुरहरुले पहिलेदेखि खाइपाई आएको १३ हजार ५ सय रुपैयाँ कटौती गरेर बादल कन्ट्रक्सन नामको कम्पनीले मासिक १० हजार रुपैयाँ तलब दिने गरी टेन्डर पारेर मजदुरहरुलाई पटकपटक निकाल्ने धम्कीपूर्ण व्यवहार गरिरहेको छ,” अध्यक्ष दाहालले भनिन्, “सरकारी कार्यालयमै श्रमिकमाथि श्रमशोषण भइरहेको छ, यस्तै अवस्था कायम रहिरहे संगठन चुप लागेर बस्दैन, देशको कानुन राज्यकै सरकारी निकायले पालना नगर्ने हो भने संगठन चरणवद्ध आन्दोलनमा जान बाध्य हुनेछ ।”
यस्तै न्यूनतम् पारिश्रमिकभन्दा कम वेतन सुविधा दिने बादल कन्ट्रक्सनको सम्झौता ऐन विपरीत रहेको भन्दै अन्टुफ सचिवालय सदस्य समेत रहेकी अध्यक्ष दाहालले श्रमिक आपूर्ति गर्ने झोले कम्पनीहरुलाई नियमनकारी निकायले दण्डित गर्नु पर्ने बताइन् ।
श्रमिक आपूर्तिकर्ताले मजदुरहरुलाई पछिल्लो समय न्यूनतम बेतन समेत उपलब्ध गर्न छाडेपछि बुधबार स्वास्थ्य मन्त्रालयका कार्यरत श्रमिकहरुसँग अखिल नेपाल सरसफाई मजदुर संघका केन्द्रीय अध्यक्ष धनु दाहाल र लक्ष्मी सारु मगरको उपस्थितमा बसेको बैठकले श्रम कानुन पालना गर्न, गराउन अनुरोध गरिने र कानुनको उल्लंघन भए चरणवद्ध संघर्ष गर्ने निर्णय समेत गरेको दाहालले बताइन् ।