१३ बैशाख ०७४, काठमाडौं । आफ्नो एक वर्षे कार्यकालको समीक्षा गर्दै व्यवस्थापिका संसदको विकास समितिको बुधबार बसेको बैठकले सरकारी निकाय कमजोर बन्दै गएको निष्कर्ष निकालेको छ ।
समितिले दिएको निर्देशन पालना गर्नसमेत सरकारी निकाय असक्षम भएको निष्कर्ष निकाल्दै समितिले अझै सशक्त भूमिका निर्वाह गरी सरकारलाई देश र जनताको पक्षमा प्रभावकारी भूमिका निर्वाह गर्न आवश्यक निर्देशन दिने निर्णय गरेको छ ।
त्यसैगरी समितिले राष्ट्रिय गौरवको आयोजना सम्पन्न गर्न अनुगमनको कामलाई प्रभावकारी ढंगले अघि बढाउने योजना तयार पारेको छ ।
समितिले हुलाकी राजमार्ग, निजगढ-काठमाडौं द्रुतमार्ग, उत्तर- दक्षिण राजमार्ग, कर्णाली राजमार्ग निर्माणको कामलाई छिटो सम्पन्न गर्ने गरी सरकारलाई निरन्तर सचेत गराउने साथै माथिल्लो तामाकोशी जलविद्युत आयोजना, मेलम्ची खानेपानी, बुढिगण्डकी जल विद्युत आयोजना लगायतका आयोजनाहरुको निर्माण कार्यलाई तीव्र गतिमा अघि बढाउन भूमिका निर्वाह गर्ने योजना पनि तय गरेको छ ।













