२६ पुस ०७७, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले सरकारी सञ्चार माध्यमहरु एउटा गुटको पर्चा जस्तो भएको भन्दै आपत्ति जनाएको छ ।
आइतबार साँझ बसेको नेकपा (प्रचण्ड–माधव) समूहको सचिवालय बैठकले सरकारी सञ्चार माध्यमहरु एउटा गुटको पर्चा जस्तै भएको भन्दै आपत्ति जनाएको हो ।
बैठकपछि नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले भने, “सरकारी सञ्चार माध्यमहरु एउटा गुटको पर्चा जस्तै भएका छन् । सरकारी स्रोत साधनको दुरुपयोग गर्न बन्द गरियोस् ।”
यस्तै सचिवालय बैठकले पूर्वप्रधानन्यायाधीशहरुलाई प्रधानमन्त्री केपी शर्मा ओलीले धम्क्याएको भन्दै समेत बताएको छ ।
संसद विघटनबारे पूर्वप्रधानन्यायाधीशहरु मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीले प्रेस विज्ञप्ति जारी गरेपछि कामचलाउ सरकारका प्रधानमन्त्री ओलीले आपत्ति जनाएका थिए ।
प्रधानमन्त्री ओलीले आइतबार राष्ट्रियसभामा अदालतको काममा बाधा गरेको भन्दै आलोचना गरेका थिए ।
तर, नेकपा (प्रचण्ड–माधव) समूहले भने नागरिकले आफ्नो विचार राख्न पाउने स्वतन्त्रता र संवैधानिक हकको सम्मान नगरेर प्रधानमन्त्रीले नै पूर्वप्रधानन्यायाधीशहरुलाई धम्क्याएको जिकिर गर्दै नागरिकको हैसियतमा बोल्दा अपमानित गर्ने काम गरेको भन्दै आपत्ति जनाएको छ ।