१ चैत्र ०७५, सप्तरी । नेपाली काँग्रेसको केन्द्रीय सदस्य एवं पूर्व मन्त्री नविन्द्र राज जोशीले लोकतान्त्रिक प्रक्रियाबाट आएको केपी ओली नेतृत्वको सरकार अलोकतान्त्रिक गतिविधिमा लागेको आरोप लगाएका छन् ।
शुक्रवार काँग्रेस सप्तरीको कार्यालयमा आयोजित स्थानीय नेता तथा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै सो आरोप लगाएका हुन् ।
नेता जोशीले कार्यक्रममा स्वतन्त्र मधेशको नारा दिने डा.सिके राउतसँग सरकारले गरेको सम्झौता, वाइडबडी जहाज खरिद काण्डमा प्रधानमन्त्री ओलीको आएको अभिव्यक्ति, चिकित्सा विधेयक जबरजस्ती पारित, प्रतिनिधि सभामा संसदीय प्रणाली र परम्परा विपरीतको बल प्रयोग, विभिन्न आयोगको गठन लगायतका काममा सरकारले अलोकतान्त्रिक प्रक्रिया र आचरण देखाएकाले काँग्रेसले यसको कडा प्रतिवाद गर्ने बताए ।
उनले प्रमुख प्रतिपक्ष दलका नेताको अनुपस्थितिमा संवैधानिक परिषद बैठक राखेर विभिन्न आयोगका प्रमुखहरुको नियुक्ति गरिएको, महँगी र भ्रष्टाचारले चरम सीमा नाघेको समेत आरोप लगाए ।













