१० पुस ०७९, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमतसहित सरकार गठनका लागि दिएको समयसीमा आज साँझ पाँच बजे सकिँदैछ ।
राष्ट्रपति भण्डारीले यही पुस ३ गते सूचना जारी गर्दै सात दिनभित्र बहुमतसहित सरकार गठनका लागि दाबी पेस गर्न आह्वान गरेको समयसीमा आज साँझ पाँच बजे सकिने भएको हो ।
प्रतिनिधि सभामा दुई वा दुई भन्दा बढी दलको समर्थनमा बहुमत जुटाउन सक्ने प्रतिनिधिसभा सदस्यले प्रधानमन्त्री दाबी गर्न सक्ने संवैधानिक व्यवस्था अनुसार दलहरुको बैठकले तीब्रता पाएपनि सहमति जुट्न नसक्दा सरकारको नेतृत्व टुंगो लाग्न सकेको छैन् ।
आजै नयाँ सरकार गठनको विषयमा छलफल गर्न सत्ता गठबन्धनको बैठक बस्नु अघि नेपाली कांग्रेसका नेताहरु आन्तरिक छलफलमा जुटेका छन् ।
सरकारको सुरुको नेतृत्व कांग्रेसले लिने कि माओवादी केन्द्रले भन्ने विषयमा काँग्रेस–माओवादी आआफ्नै अडानमा रहेका छन् ।
सत्ता गठबन्धनको बैठक आज बिहान १० बजे बोलाइएको छ ।













