सरकार र चन्द समूहबीच तीन बुँदे सहमति पत्रमा हस्ताक्षर (प्रेस नोटसहित)

२० फागुन ०७७, काठमाडौं । नेपाल सरकार र नेत्रविक्रम चन्द समूह बीच तीन बुँदे सहमति पत्रमा हस्ताक्षर भएको छ ।

बिहीबार जारी प्रेस नोटमा दुई पक्षबीच भएका सहमतिको बिस्तृत विवरण भोलि फागुन २१ गते अपरान्ह २ बजे विशेष समारोहबीच सार्वजनिक गरिने बताइएको छ ।

“नेपाल सरकार र नेपाल कम्युनिस्ट पार्टीकाबीच तीन बुँदे सहमति पत्रमा हस्ताक्षर भएको छ । उक्त सहमतिमा नेपाल कम्युनिस्ट पार्टीले आफ्ना सम्पूर्ण राजनीतिक विषयहरुको समाधान सम्वादका माध्यमबाट गर्ने, आफ्ना सम्पूर्ण राजनीतिक क्रियाकलापहरु शान्तिपूर्ण रुपमा सञ्चालन गर्ने र नेपाल सरकारका तर्फबाट लगाइएको नेपाल कम्युनिस्ट पार्टी माथिको प्रतिबन्ध हटाउने” प्रेस नोटमा उल्लेख छ ।

“सहमतिको विस्तृत विवरण यही फागुन २१ गते दिनको २ बजे विशेष समारोहबीच सार्वजनिक गरिनेछ,” प्रेस नोटमा भनिएको छ, “उक्त समारोहलाई नेपाल सरकारको तर्फबाट सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल कम्युनिस्ट पार्टीको तर्फबाट उक्त पार्टीका महासचिव कमरेड ‘विप्लव’ले सम्बोधन गर्नु हुनेछ ।”

वार्ताका लागि सरकारले गृहमन्त्री रामबहादुर थापा ‘बादल’को संयोजकत्वमा र चन्द समूहले खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’को नेतृत्वमा वार्ता टोली गठन गरेको थियो ।