१० बैशाख ०७४, बिराटनगर । उपप्रधान तथा स्थानीय विकासमन्त्री कमल थापाले सरकार र मधेसी मोर्चाबीच शनिबार भएको सहमतिले गतिरोध अन्त्य गर्दै राजनीतिमा नयाँ अध्याय शुरु भएको बताएका छन् ।
उपप्रधान एवम् स्थानीय विकासमन्त्री साथै राप्रपाका अध्यक्ष समेत रहेका थापाले आइतबार बिहान बिराटनगरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै मुलुकलाई निकास दिन सहमतिलाई सबै दलले इमान्दारीताको साथ कार्यान्वय गर्नु पर्ने बताए ।
उनले सरकार र मधेसी मोर्चाबीच शनिबार भएको सहमतिले आन्दोलनमा रहेका मधेस केन्द्रित दलहरुलाई पनि राष्ट्रिय राजनितको मुलधारमा ल्याउने बताए ।
सरकार र मधेसी मोर्चाबीच शनिबार स्थानीय तहको निर्वाचन दुई चरणमा गर्ने, स्थानीय तहको संख्या थप, सिमांकन हेरफेरका लागि बनाइने संघीय आयोगको संरचना निर्माण लगायत संविधान संशोधन विधेयक परिमार्जन सहित चुनाव अगाडि अनुमोदन गर्ने, जनसंख्याका आधारमा मधेसमा स्थानीय तहको संख्या थप्न गृहकार्य गर्ने विषयमा वार्तामा सहमति भएको थियो ।
पहिलो चरणको चुनाव प्रदेश नम्बर ३, ४ र ६ मा पूर्वनिर्धारीत मिति बैशाख ३१ मा हुनेछ भने प्रदेश नम्बर १, २, ५ र ७ मा दोश्रो चरण अन्तर्गत जेठ ३१ गते गर्ने बारे सरकार र मधेस केन्द्रित दलको सहमति अनुसार मन्त्रिपरिषदले आज थप निर्णय गर्न लागेको छ ।
मन्त्रिपरिषद बैठकको निर्णयपछि मात्र दुई पक्षबीच औपचारिक सहमति पत्रमा हस्ताक्षर गर्ने तयारी छ ।