सरकार र राजपा संविधान संशोधन विधेयक अघि बढाउन सहमत

२३ असार ०७४, काठमाडौं । सरकार र राष्ट्रिय जनता पार्टी संविधान संशोधन विधेयकलाई अघि बढाउन सहमत भएका छन् । यसका लागि दुई तिहाई पुर्‍याउन प्रमुख विपक्षी नेकपा एमालेसहितका दलहरुसँग सम्वाद गर्ने सरकारको तयारी छ ।

दल दर्ताका लागि निर्वाचन आयोगमा आवेदन दिएर राजपाका नेताहरु बालुवाटार पुगेका थिए । बैठकमा कांग्रेस, माओवादी र राजपाका शीर्ष नेताहरु सहभागी थिए ।

बैठकमा संविधान संशोधन र असोज २ गते घोषणा गरिएको तेस्रो चरणको निर्वाचनबारे कुराकानी भएको थियो ।

बैठकमा नेताहरु बीच संविधान संशोधनको प्रक्रिया अगाडि बढाएर तेस्रो चरणको स्थानीय तह निर्वाचनमा राजपाका नेताहरुलाई सहभागी गराउन नेताहरु सकारात्मक देखिएका छन् ।

राजपाका नेताहरुले संविधान संशोधनसहित तीनबुँदे सहमति कार्यान्वयन गर्न माग गरेका छन् । कांग्रेस प्रधानमन्त्री र पूर्वप्रधानमन्त्रीले बचन दिनु भो, यो सरकारलु सहमति अनुसार काम अघि बढाउँछ’ राजपा नेता राजेन्द्र महतोले भने ।

कांग्रेस नेता रामचन्द्र पौडेलले राजपालाई चुनावमा ल्याउन संविधान संशोधन प्रयास गर्ने सहमति भएको बताए । उनका अनुसार यसै महिना संशोधन पास गर्ने प्रयास हुनेछ ।

बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै कांग्रेस नेता विमलेन्द्र निधिले संविधान संशोधन गर्न प्रयास गर्ने समझदारी भएको बताए । उनले भने, संविधान संशोधन पास गर्ने कोसिस गर्छौं । अन्य पार्टीहरुसँग भोलि छलफल गर्ने कुराकानी भएको छ ।’

तपाइको मत