२२ पुस ०७४, काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले पाँच वर्ष वाम गठवन्धन बाहेक अरु कसैको सरकार नबन्ने बताएका छन् ।
वाम गठवन्धन निकट कर्मचारी संगठनद्धारा पश्चिमकालीमा आयोजित निर्वाचित जनप्रतिनिधि स्वागत कार्यक्रममा नेता श्रेष्ठले अब पाँच वर्ष वाम गठबन्धनको सरकार बन्ने बताका हुन् । उनले भने,‘अहिले बाहिर दुई थरी हल्ला चलेको छ, एउटा काग्रेस र अरु दुई पार्टीको सहयोग लिएर माओवादीले सरकार बनाउने, अर्काे एमालेले फोरमसँग मिलेर सरकार बनाउन यो सबै हल्ला मात्र हो, अबको सरकार वाम गठबन्धनकै बन्छ, अरुको होइन ।’
उनले नयाँ सरकार गठनमा ढिलाइ हुनुमा एउटा संवैधानिक व्यवस्था र राष्ट्रिय सभाको ऐन निर्माणअघि निर्वाचन हुनु र अर्को कांग्रेसले सत्ता ओगटेर बस्ने प्रवृति देखाएका कारण भएको बताए ।
उनले एमाले अध्यक्ष केपी ओली उपचारका लागि बिदेश जानुअघि नै केही सहमति गर्नुपर्ने भएकाले सरकार गठनसँगै एमाले र माओवादीको पार्टी एकीकरणका लागि प्रारम्भिक गृहकार्य भइरहेको बताए ।
त्यस्तै उनले आज दुई पार्टीका अध्यक्षबीच छलफल हुने र भोलि पार्टी एकता संयोजक समितिको बैठक बसी ‘वैचारिक राजनीतिक र संगठनात्मक संरचनाको आधार के हुने भन्ने बारेमा छलफल गरेर पार्टी एकताका लागी बढ्ने बताए ।