३ साउन ०७७, सर्लाही । जिल्लाको रामनगर गाउँपालिका–४, बहुअर्वाका वडा अध्यक्ष रामनरेश महतोलाई कारागार चलान गरिएको छ ।
बहुअर्वाकै रामजनम राय भन्ने ६० वर्षीय रामजल रायको हत्या घटनामा मुछिएका वडाध्यक्ष महतोलाई सर्लाही जिल्ला अदालतको आदेशमा कारागार चलान गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीले न्यायाधिश दीनबन्धु बरालको इजलाशमा शुक्रवार भएको थुनछेक बहसपछि अदालतको आदेशअनुसार वडाध्यक्ष महतोलाई शुक्रवार गौर कारागार, रौतहट चलान गरिएको बताएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थानीय नेता रामजलको गत असार ७ गते धारिलो हतियार प्रहार गरी हत्या गरिएको अवस्थामा घर नजिकैको खेतमा शव फेला परेको थियो ।
रायको हत्या भएपछि उनको छोराले वडाध्यक्ष महतो लगायत नौ जनाविरुद्ध प्रहरीमा किटानी जाहेरी दिएको थियो । जाहेरी परेसँगै अन्य ८ जना भने फरार रहेका छन् ।













