सर्वोच्चले प्रधानमन्त्रीलाई सोध्यो, अवहेलनामा कारवाही किन हुनु नपर्ने हो ? (आदेशसहित)

१५ माघ ०७७, काठमाडौं । सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीलाई लिखित जवाफसहित अदालतमा उपस्थित हुन आदेश दिएको छ ।

प्रतिनिधिसभा विघटनको मुद्दामा भइरहेको बहसकै विषयमा प्रधानमन्त्री ओलीले एक कार्यक्रममा ‘बाजे वकिललाई इजलासमा लगेर तमासा गरेको’ अभिव्यक्ति दिएपछि दायर भएको अदालतको अवहेलना मुद्दामा सर्वोच्चले ओलीलाई लिखित जवाफसहित आफैँ उपस्थित हुन आदेश दिएको हो ।

“यसमा के कसो भएको हो ? माग बमोजिम अवहेलनामा कारवाही किन हुनु नपर्ने हो ? म्याद प्राप्त भएका मितिले बाटाका म्याद बाहेक ७ ( सात ) दिन भित्र सबै बेहोरा खुलाई आफै लिखित जवाफ पेश गर्नुहोला” न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले दिएको आदेशमा भनिएको छ ।

प्रधानमन्त्रीले संसद विघटनको मुद्दामा विवादास्पद अभिव्यक्ति दिएपछि वरिष्ठ अधिवक्ता कुमार शर्मा आचार्य र अधिवक्ता कञ्चनकृष्ण न्यौपानेले अदालतको अवहेलनाको मुद्दा दर्ता गराएका थिए ।