८ फागुन, काठमाडौं । नेपाल प्रहरीको महानिरीक्षक पद सम्बन्धी सर्वोच्च अदालतमा परेको दुईवटा मुद्दालाई अदालतले आज एउटै बेञ्चमा राखेर सुनुवाइ गर्दैछ ।
डीआइजी जयबहादुर चन्दलाई आइजीपी बनाउने मन्त्रिपरिषदको निर्णयलाई सर्वोच्चले अल्पकालीन अन्तरिम आदेशमार्फत् रोकीराखेको मुद्दा र डीआइजी नवराज सिलवालले बरियताका आधारमा आफूलाई आइजीपी बनाउने आदेश गरी पाउँ भन्दै दर्ता गरेको रिटमाथि आइतबार छलफल हुँदैछ ।
चन्दलाई आइजीपीमा नियुक्त गर्ने सरकारको निर्णयलाई अदालतले वैध ठहराएको अवस्थामा आइजीपी नियुक्ति प्रकरण स्वतः समाप्त हुनेछ । तर, चन्दको नियुक्ति बदर भयो भने अदालतले कसलाई कुन प्रक्रियाबाट आइजीपी बनाउने भन्ने व्याख्या गरिदिन सक्छ र त्यसपछि नवराज सिलवाल वा अरु कसैलाई आइजीपी बनाउने बाटो खुल्न सक्छ ।
सरकारले गरेको आइजीपी नियुक्तिसम्बन्धी विषय विवादमा परेपछि प्रहरी अस्पतालका एआइजी दिनेशचन्द्र पोखरेलले निमित्त महानिरीक्षको जिम्मेवारी सम्हालिरहेका छन् ।













