सशस्त्र प्रहरीद्वारा एक व्यक्तिसहित चोरीपैठारीका विभिन्न सामान बरामद

८ असार ०७७, रौतहट । सशस्त्र प्रहरीले गौर नगरपालिका ४ लालबकैयास्थित बाँधबाट आइतबार करिब १ लाख ३ हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ ।

भारतबाट अवैध रुपले भन्सार छली ल्याउँदै गरेको अवस्थामा उक्त लत्ताकपडा सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट गौरबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो ।

सशस्त्र प्रहरी नायव उपरीक्षक अजय छतकुलीले बरामद लत्ताकपडा एपीएफ टोलीले स्थानीय भन्सार कार्यालयमा बुझाएको बताएका छन् ।

यसैगरी सशस्त्र प्रहरी बल, नेपाल नम्बर ३८ गुल्म रुपन्देहीबाट खटिएको एपीएफ टोलीले आइतबार नै करिब एक लाख २८ हजार रुपैयाँ बराबरको चोरीपैठारीको मोबाईल सेट र सुर्तीजन्य पदार्थ बरामद गरेको पनि उनले बताए ।

प्रहरी नायव उपरीक्षक अजय छतकुलीले अवैध रुपले भन्सार छली ल्याउँदै गरेको अवस्थामा उक्त सामान रुपन्देही जिल्लाको रोहिणी गाँउपालिका १ सिमलपानीबाट बरामद गरिएको जानकारी दिए ।

उनले धनुषा जिल्लाको धनौजी गाँउपालिका ४ बाट पनि एपीएफ टोलीले करिब ७२ हजार रुपैयाँ बराबरको चोरी पैठारीको पाउडर दुधसहित सोही ठाउँ बस्ने २६ बर्षीय बिजय मण्डललाई पक्राउ गरेको बताए ।

भारतबाट नेपालतर्फ अवैध रुपमा ल्याउँदै गरेको अवस्थामा सशस्त्र प्रहरी बल नेपाल फरवार्ड सुरक्षा बेस ईटहरुवाबाट खटिएको एपीएफ टोलीले निज मण्डललाई पाउडर दुधसहित पक्राउ गरेको उनलाई बरामद पाउडर दुधसहित आवश्यक कारवाहीको लागि स्थानीय भन्सार कार्यालयमा बुझाइएको छ ।