३१ चैत काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मधेसी मोर्चासँग सहमति गरेर नै संविधान संशोधनको नयाँ विधेयक ल्याइएको तर अस्वीकार गरेर दबावमुलक आन्दोलन घोषणा गरी धोका भयो भन्नु गलत भएको बताएका छन् ।
प्रधानमन्त्री प्रचण्डले मोर्चाका नेताहरु समेत सहभागी अनौपचारिक कार्यदलले दिएको सुझाव अनुसार नै संशोधन प्रस्ताव ल्याइएको बताएका हुन् ।
माओवादी केन्द्रको हेडक्वाटर बैठकमा प्रधानमन्त्री प्रचण्डले मोर्चा चुनावमा आउँछ भन्ने विश्वास रहेको बताए पनि मधेसी मोर्चाका नेताहरुले भने पूर्ववत अडानमा छन् ।
प्रधानमन्त्री प्रचण्डले मधेसी मोर्चाका उपेन्द्र यादव, राजेन्द्र महतो लगायत नेताहरुसँग टेलिफोन सम्वादमा नमिलेका विषय छलफलबाटै मिलाउन तयार रहेको बताएका छन् ।
संघीयता, गणतन्त्र, समानुपातिक समावेशी, धर्मनिरेपक्षता लगायतका उपलब्धी संस्थागत गर्न पनि निर्वाचन अनिवार्य भएको भन्दै प्रधानमन्त्री प्रचण्डले आन्दोलन छाडेर सहमतिमा आउन मोर्चाका नेताहरुलाई आग्रह गरेका छन् ।
विगतको छलफलमा सीमांकनको विषयमा आयोग बनाएर जान तपाईंहरु राजी पनि भइसक्नु भएको हो,’ प्रचण्ड र मोर्चाका नेताहरुको कुराकानी उद्धृत गर्दै प्रधानमन्त्रीको प्रेस सल्लाहकार गोविन्द आचार्यले भनेका छन्, ‘त्यही भएर अरु कुरामा केही छन् भने छलफल गरौं र तीनै तहको निर्वाचन सुनिश्चित गरौं भनेर उहाँले (प्रचण्डले)भन्नुभएको छ ।’