१६ साउन, काठमाडौं । सहमतीय सरकार गठनका लागि राष्ट्रपतिले दलहरुलाई दिएको समय सीमा आइतबार सकिएसँगै नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र ‘प्रचण्ड’को नेतृत्वमा बहुमतीय सरकार गठन गर्न जुटिसकेका छन् । मधेसी मोर्चाका नेताहरुले पनि प्रधानमन्त्री चुनावमा माओवादी केन्द्रका अध्यक्ष ‘प्रचण्ड’लाई भोट दिन मन बनाइसकेका छन् ।
मधेसी मोर्चा माओवादी केन्द्रका अध्यक्ष ‘प्रचण्ड’लाई भोट हाल्नु अघि सम्झौतामा कस्ने रणनीति बनाएको छ । जसका लागि मोर्चाले मधेसी मोर्चाबाट हृदयेश त्रिपाठी र राजेन्द्र श्रेष्ठ साथै संघीय गठवन्धनबाट कुमार लिङ्ग्देन सम्मिलित कार्यदल बनेको छ ।
यसैगरी मधेसी मोर्चालाई सरकारमा सहभागी गराउन गठित कार्यदलमा कांग्रेसबाट विमलेन्द्र निधि, कृष्ण सिटौला र रमेश लेखक तोकिएका छन् भने माओवादीले कृष्णबहादुर महरा, गिरिराजमणि पोखरेल र वर्षमान पुन अनन्तलाई पठाएको छ । कार्यदलको पहिलो बैठक आइतबार नै बसेको छ ।
स्रोतहरुका अनुसार सहिद घोषणा, घाइतेको उपचार खर्च र आन्दोलनका क्रममा भएका घटनाका छाविनका लागि आयोग गठनबारे सहमतिमा खासै समस्या छैन । मधेसी मोर्चाले पहिलो क्याविनेटबाट गर्नु पर्ने भनेको छ । र, केही दिनमा नै दुई चरणमा कार्यान्वयन गर्ने गरी सम्झौता गर्ने देखिएको छ ।
माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र कांग्रेसका सभापति शेरबहादुर देउवा दुबै यो मागमा सकारात्मक छन् । सहिद घोषणा, क्षतिपूर्ति र उपचार खर्च झण्डै ७० प्रतिशत केपी ओली सरकारले गरिसकेको छ । यसमा न्यायीक छानविन आयोग गठन भने हुन सकेको थिएन ।